Logo

शेखर गोल्छा भन्छन-कोरोनाबाट अर्थतन्त्र जोगाउन २ खर्बको राहत प्याकेज, व्याजदर ५ प्रतिशतमा सिमित

शेखर गोल्छा भन्छन-कोरोनाबाट अर्थतन्त्र जोगाउन २ खर्बको राहत प्याकेज, व्याजदर ५ प्रतिशतमा सिमित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाल सरकारले २ खर्ब बराबरको राहत प्याकेजको घोषणा गर्नुपर्ने बताएका छन् । बुधबार नेपाली कांग्रेस संसदीय दलद्वारा सरकारको आगामी नीति कार्यक्रम र बजेटबारे बुधबार आयोजित छलफल कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन तथा उद्योग व्यवसायलाई जिवित तुल्याउन सरकारले २ खर्ब बराबरको राहत प्याकेज ल्याउनुपर्ने बताएका हुन ।

कोरोना भाइरसका कारण अब दुई वर्षसम्म नेपालको अर्थतन्त्र उठ्न नसक्ने गरी थला परेको बताउँदै उनले सरकारले उद्योग व्यापारलाई पुनर्जीवन दिने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘पर्यटन क्षेत्रले कम्तीमा दुई वर्षसम्म गति लिन सक्दैन,’ उनले भने, ‘कृषि क्षेत्र, पोल्ट्रीलगायत लाइभ टक इन्डस्ट्रीमा पनि लामो समयसम्म समस्या हुनेछ ।’

यस्तै उनले बैंकको कर्जाको ब्याजदर पनि केही बर्षका लागि ५ प्रतिशत कायम गर्नुपर्ने बताएका छन् । छलफल कार्यक्रममा बोल्दै उनले बैंकको कर्जा केही वर्षका लागि पाँच प्रतिशत हाराहारीमा रोक्नुपर्ने बताएका हुन । उनले बिजुली महसुल अहिलेको भन्दा २० प्रतिशत कम हुनुपर्ने भ्याट क्रेडिट पाउनुपर्नेमा समेत बताएका हुन ।

उनले नेपाली कांग्रेसकै पालामा लगाईएको १३ प्रतिशत मूल्य अभिवृद्धि करलाई अब १० प्रतिशतमा झार्नुपर्ने बताएका छन् । आयकरका दरमा समेत २० प्रतिशत छुट हुनुपर्ने उनको माग छ । छुट भएमा लगानी आकर्षित हुन्छ । यस्तै हरेक व्यक्तिको सम्पत्ति अभिलेखीकरण गरी औपचारिक क्षेत्रमा ल्याउनुपर्नेमा उनले जोड दिए । उनका अनुसार यसले अर्थतन्त्रमा टेवा पुग्नुका साथै राजस्व र करमा सुधार हुन सक्नेछ ।

‘भारततर्फको निर्यातमा पाँच प्रतिशत र अन्तर्रा्ष्ट्रिय निर्यातमा १० प्रतिशत छुट भयो भने धेरै निर्यातयोग्य उद्योग आउन सक्छन्,’ उनले भने, ‘कृषि उत्पादन ३ देखि ४ प्रतिशतसम्म मात्र बढिरहेको छ, त्यसैले कृषिलाई अन्तर्रा्ष्ट्रियकरण गर्नुपर्छ ।’ रुग्ण उद्योग पुनः सञ्चालनका लागि नीतिगत व्यवस्था हुनुपर्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्