काठमाडौं । लकडाउनबारे निर्णय गर्न आज कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दै छ । यो बैठकले पछिल्लो समय देशमा भइरहेका गतिविधिबारे चर्चा गर्नुका साथै अब लकडाउन लम्ब्याउने कि लकडाउनबारे नयाँ मोडालिटी तय गर्ने भन्नेबारे पनि चर्चा गर्नेछ ।
प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बैठमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने जानकारी दिएका छन् । सरकारले यसअघि घोषणा गरेको लकडाउन २५ वैशाखमा सकिँदैछ ।
अब लकडाउनको मोडालिटीबारे केही परिवर्तन ल्याउने यसअघिको तयारी भए पनि नेपालगन्जमा एकै पटक १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि लकडाउन के गर्ने भन्नबारे सरकारले निर्णय गर्न सकेको छैन ।
आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने यो बैठकले यसको निर्णय गर्नेछ । नेपालमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित ७५ जना पुगेका छन् । अहिलेसम्म नेपालमा कोरोनाभाइरसका कारण कसैको मृत्यु भएको छैन । १६ जना ठिक भएका छन् ।