Logo

नेप्से १५ सय अंकको लक्ष्यतिर

नेप्से १५ सय अंकको लक्ष्यतिर


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

३२ साउन, काठमाडौं । लगानीकर्ताहरुको उत्साह देखिन थालेपछि सेयर बजारको कारोबारमापक नेप्सेले पुरानो रेकर्ड तोड्ने संकेत देखाएको छ ।

अघिल्लो हप्तादेखि फेरि बजार निरन्तर वृद्धि भैरहेको छ । वाणिज्य बैंकहरुको प्रभूत्व बढी रहेको नेपालको सेयर बजारमा प्रायजसो बैंकहरुले असार मसान्तसम्मको वासलात प्रकाशित गरिसकेको र नाफाको स्थिति पनि केहीको बाहेक राम्रो देखिएकोले लगानीकर्ताहरु उत्साहित बनिरहेका छन । हप्ता शुरु हुनासाथ हिजो आइतबार पनि बजार बढ्यो र नेप्से १ हजार १ सय १२ अंकमा पुग्यो । २०६५ भदौपछि निरन्तर घटेको बजार त्यसपछिका बर्षको अधिकतम उचाईमा त पुगी नै सकेको छ भने २०६५ भदौको उचाई पार गर्न अव ६३ अंक मात्र बाँकी रहेको छ ।

निरन्तर बृद्धि नभएपनि केही दिनमै बजारले पुरानो रेकर्ड तोड्ने सेयरका विश्लेषकहरु बताउँछन । लघुवित्त कम्पनीबाहेक अन्य कम्पनीहरुको बजार बढ्ने देखिन्छ । भूकम्पपछि बीमा कम्पनीका सेयर घट्न सक्ने अनुमान गरिएपनि बीमाको चेतना बढेर बीमा गर्ने प्रबृत्ति बढ्ने भएकोले आगामी दिनमा बीमा गर्ने प्रवृत्ति बढ्ने देखिन्छ । पुँजी वृद्धिको कुरा बीमा कम्पनीहरुमा पनि लागू भएकोले यस क्षेत्रलाई पनि सकारात्मक प्रभाव पर्नेछ । त्यसैले अहिले सेयरमूल्य घटेपनि भविष्यका लागि बीमाको पनि सेयरमूल्य बढ्ने संभावना बढी छ । भूकम्पपछि पर्यटक आगमन घटेकोले होटल समूहको मूल्य भने घट्ने देखिन्छ ।

पछिल्लो समयमा राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि मर्जर, एक्वीजिसन, हकप्रद र सञ्चितकोषमा रकम बढी हुने र नाफा बढी गर्नेहरुले बोनस सेयर वितरण गर्ने भएकोले सेयरको मूल्य बढ्नेछ । विगत केही समययता सेयरको आपूर्ति पनि नबढेकोले विद्यमान सेयरबीच खरिदको चाप बढ्दा मूल्य बढिरहेको हो । विश्लेषकहरुले खरिदको चाप बढेको र कारोबार रकम पनि बढिरहेको स्थितिलाई नियालेर नेप्से १ हजार ५ सय अंक नाघ्ने अनुमान गरेका छन ।
संबिधान जारी अर्को सकारात्मक पाटोको रुपमा रहेको छ । दलहरुबीच अभूतपूर्वरुपमा सहमति भैरहेको सकारात्मक पाटोलाई हेर्दा सहमतिको संबिधान जारी हुने स्थिति बन्दैछ ।

भूकम्पपछिको पुनर्निर्माणलाई ठूलो रकमको सहयोग जुटेको, सबैभन्दा ठूलो दल र बजारलाई अनुकूल नीति बनाउन सहयोग गर्ने कांग्रेस कुनै न कुनै रुपमा सरकारमा रहिरहने मूल्यांकनका आधारमा लगानीकर्ताहरु उत्साहित बन्न पुगेको धेरैको अनुमान रहेको छ । दोस्रो संविधानसभामा यही आकलनका आधारमा बढ्न थालेको सेयर बजार कांग्रेसको बहुमत आउनासाथ तीब्रगतिमा बढ्न शुरु गरेको थियो ।

आगामी दिनमा सरकारी तवरबाट ठूलो लगानी हुन थालेको, स्वदेशी तथा विदेशी पुँजी लगानी हुन थालेको र आर्थिक गतिविधि विस्तार हुने संभावना तीब्र बन्न थालेको विश्लेषणका आधारमा लगानीकर्ताहरु थप उत्साहित भैरहेका छन ।
विश्लेषकहरुका अनुसार तत्काल लगानीका क्षेत्र अरु नभएको र तुरुन्त नाफा भैहाल्ने क्षेत्र पुँजी बजार भएकोले पनि अहिले नेप्सेले १ हजार ५ सय अंकको लक्ष्य तय गर्न सक्छ । यसो भएमा बैंकहरुको सेयरमूल्य धेरै बढ्न सक्छ । तर लगानीकर्ताहरुले सावधानीपूर्वक लगानी गर्नुपर्ने हुन्छ ।

पुँजी कम बैंकहरु अन्यसँग मर्ज हुन सक्ने संभावना छ । पुँजी बढी भएकाले पनि आफ्नै बलवूताले पुँजी थप्ने संभावना रहन्छ । धेरैले एभरेष्ट बैंकलाई लगानीका लागि आकर्षक ठानेपनि उसले हकप्रद निश्कासन गर्दैन । किनकि साझेदारले पुँजी थप्ने संभावना कम छ । अहिले उसले पुँजी वृद्धिको समयअवधि लम्ब्याउनका लागि पहल गरिरहेको छ । अर्कोतिर अन्य ३ वटा बैंकलाई किन्नका लागि प्रयास गरिरहेको छ । यसरी हेर्दा एभरेष्ट बैंकभन्दा नविल र नेपाल इन्भेष्टमेन्ट बैंक पुँजी बढी भएपनि लगानीकर्तालाई लाभदायी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL