Logo

सरकारको अध्यादेश फिर्ता लिने निर्णयलगत्तै राष्ट्रपतिद्वारा दुबै अध्यादेश खारेज

सरकारको अध्यादेश फिर्ता लिने निर्णयलगत्तै राष्ट्रपतिद्वारा दुबै अध्यादेश खारेज



काठमाडौं । सरकारले ल्याएको दुईवटा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् । कोरोनाभाइसरसँग मुलुक जुधिरहँदा राजनीतिमा तरंग पैदा गराएका दुवै अध्यादेश शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत प्रधानमन्त्री ओलीले फिर्ता लिने निर्णय गराएपछि राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन् ।

सत्तारुढ दल नेकपाभित्र र विज्ञहरुसँग परामर्श नगरी गएको सोमबार (वैशाख ८) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमार्फत राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको थियो ।

यी अध्यादेश पार्टी फुटाउन र संवैधानिक परिषद्मा प्रतिपक्षी दलको सहभागी बिना सरकारले आफू खुसी निर्णय गर्न मिल्ने गरी नियोजित रुपमा ल्याइएको भन्दै सरकार र सत्तारुढ दलको चौतर्फी विरोध भइरहेको थियो ।

विपक्षी पार्टी, नागरिक र स्वयम सत्तारुढ दलका नेताहरुबाट व्यापक अलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL