Logo

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार नाघ्यो, साढे २२ लाख संक्रमित (अपडेट)

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार नाघ्यो, साढे २२ लाख संक्रमित (अपडेट)



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बढेको छ । संक्रमणबाट विश्वभर १ लाख ५४ हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ५४ हजार १ सय ४५ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या २२ लाख ४८ हजारभन्दा बढी पुग्दा ५ लाख ७१ हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड(१९ को इपीसेन्टर बनेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट शुक्रबार एकैदिन २ हजार ४९८ जनाको मृत्यु भएको छ भने ३१ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ भने ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको स‌ंख्या २० हजार २ पुगेको छ । एकै दिन स्पेनमा ६८७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ५ हजार ८९१ नयाँ संक्रमित फेला परेसँगै स्पेनमा १ लाख ९० हजार ८३९ जना कोरोना संक्रमित बनेका छन् । जसमध्ये ७४ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् ।

इटालीका २२ हजार ७४५ जना नागरिकले ज्यान गुमाएका छन् । एकै दिन ५७५ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार ४३४ पुगेको छ । संक्रमितमध्ये ४२ हजार ७२७ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा ज्यान गुमाउनेको संख्या १८ हजार ६८१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा फ्रान्समा ७६१ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म फ्रान्समा १ लाख ४७ हजार ९६९ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३४ हजार ४२० जना उपचारपछि फर्किएका छन् भने ६ हजार २७ जनाको अवस्था गम्भीर छ ।

बेलायतमा अहिलेसम्म एक लाख ८ हजार ६९२ कुल संक्रमित भएका छन् भने १४ हजार ५७६ जनाको मृत्यु भएको छ । बेल्जियममा ३६ हजार १३८ कुल सङ्क्रमित भएका छन् भने ५ हजार १६३ जनाको मृत्यु भएको छ । यसैबीच ७ हजार ९६१ निको भएर फर्किएका छन् ।

इरानमा ७९ हजार ४९४ कुल संक्रमित भएका छन् भने ४ हजार ९५८ जनाको मृत्यु भएको छ । यसैबीच ५४ हजार ६४ निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ६९२ कुल संक्रमित भएका छन् भने ४ हजार ६३२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ९४४ निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ४१ हजार ३९७ कुल संक्रमित भएका छन् भने ४ हजार ३५२ जनाको मृत्यु भएको छ । यसैबीच ८३ हजार ११४ जना निको भएर फर्किएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म ३० हजार ४४९ जना संक्रमित भएका छन् भने ३ हजार ४५९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ३३ हजार ६८२ जना संक्रमित भएका छन् भने २ हजार १४१ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ हजार २६ जना ठिक भएका छन् । टर्कीमा ७८ हजार ५४६ जना संक्रमित भएका छन् भने एक हजार ७६९ जनाको मृत्यु भएको छ । त्यस्तै ८ हजार ६३१ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्