Logo

सुन अभाव हुँदा व्यवसायी र बैंकरबीच आरोपप्रत्यारोप

सुन अभाव हुँदा व्यवसायी र बैंकरबीच आरोपप्रत्यारोप


रामराजा श्रेष्ठ
54
Shares

रक्षा रेग्मी

२१ साउन, काठमाडौं । बजारमा सुन अभाव हुँदा बैंकर र व्यसायीबीच आरोपप्रत्यारोप बढ्दै गएको छ । एकातर्फ व्यवसायीहरुले बैंकहरुले सुन नदिएको गुनासो गर्दै आएका छन् भने बैंकरहरु आफुहरुले आयात गरेको सवै सुन व्यवसायीलाई दिँदै आएको बताउँछन् ।

केही दिनदेखि लगातार घटरिहेको सुनको भाउ बुधवारसम्म आइपुग्दा पाँच बर्षयताकै सस्तो मूल्यमा झरेको छ । मूल्य घट्दा सुनको माग बढेकाले पनि सुन अभाव हुन पुगेको सरोकारवालाहरु बताउँछन ।

भाउ सस्तिदै जाँदा व्यवसायीले सुन लुकाएकै कारण बजारमा अभाव हुन थालेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी बताउँछन् । ‘बजारमा सुन नहुनुमा राष्ट्र बैंकको कुनै हात छैन,’ उनले भने, ‘तर, व्यवसायीले महङ्गोमा किनेको सुन सस्तोमा बेच्दा घाटा लाग्ने भएकाले लुकाएको हुनसक्छन ।’ सस्तो मूल्यको सुन बजारमा भित्र्याउन विभिन्न औपचारिकता पुरा गर्नुपर्नेभएकोले नयाँ सुन आइपुग्न अझै समय लाग्ने उनको भनाइ थियो ।

त्यस्तै बैंकरहरु आफुले राष्ट्र बैंकको नियम अनुसार मगाएको सवै सुन व्यवसायीलाई विक्री गरिएको बताउँदै आएका छन् । सुन सस्तिदै जाँदा केही व्यवसायीले लुकाएकैकारण बजारमा सुनको अभाव भएको नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए । ‘बैंकहरुले राष्ट्र बैंकले उपलब्ध गराएको कोटा अनुसार सुन आयात गरेर बेचिरहेका छन्,’ उनले भने, ‘व्यवसायीले महङ्गोमा किनेको सुन भाउ घटेको कारण लुकाउँदा बजारमा अभाव भएको हो ।’

यता व्यवसायीहरु भने बैंकहरुले सुन लुकाएकै कारण समस्या उत्पन्न भएको बताउँछन् । बजारमा सुन अभाव हुनुमा बैंकहरुको भुमिका रहेको सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । बैंकले महंगोमा किनेको सुन सस्तोमा बेच्नुपरेकोले लुकाएको उनको आरोप छ । ‘व्यवसायीेले अन्तरराष्ट्रिय बजारको मूल्य अनुसार दैनिक सुनको मुल्य घटाएर बेच्ने गरेका छन् तर, व्यवसायीहरु भने मुल्य घट्ने वित्तिकै सुन लुकाउँछन्,’ उनले भने ।

उनका अनुसार बैंकहरुले असारको दोश्रो सातासम्म आफुसँग ५ सय ५० किलो सुन मौज्दात रहेको बताउँदै आएका थिए । तर, भन्सार दर र अन्तरराष्ट्रिय बजारमा मुल्य घट्ने वित्तिकै सुन सकिएको भन्दै बैंकहरुले दिन छाडेको उनको आरोप छ । पछिल्लो समय बजारमा ढिका सुन पाउन छाडिएको समेत उनले जानकारी दिए ।

अभाव काँचो सुनको मात्र हो, गहनाको होइन

यता केही व्यवसायी भने बजारमा काँचो सुन मात्र अभाव भएको बताउँछन् ।

सुनको भाउ घटेपछी सर्वसाधारण सुनको ढिक्का खोज्न आएको र नपाएकोले मात्र सुन अभाव भएको हल्ला फैलिएको मेरिगोल्ड ज्वेलर्सकी प्रोप्राइटर ज्योत्सना श्रेष्ठले बताइन् । ‘बजारमा सुनका गहनाको अभाव छैन,’ उनले भनिन् । उपभोक्ताले चाहेजति गहना पाइरहेको समेत उनको दावी छ ।

राष्ट्र बैंकले अफसिजनमा १५ र सिजनमा २० किलो सुन आयात गर्न दिँदै आएको छ । तर, पछिल्लो समय व्यवसायीले तत्कालका दैनिक ३० केजि सुन आयात गर्न माग गरेका छन् ।

विश्वकै सबैभन्दा बढी सुन उत्पादन गर्ने चीनले आफुसँग मौज्दात गरहेको केही सुन बेचेको थियो । त्यसपछी सुनको भाउ घट्न थालेको सरोकारवालाहरु बताउँछन् । त्यस्तै ग्रीसको अर्थतन्त्र पनि खस्किएकोले उसले सुन बेच्छ भन्ने अनुमान गरिएको थियो । जसले गर्दा अन्तरराष्ट्रिय बजारमा सुनको मुल्यमा गिरावट आएको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL