Logo

मोवाइल टावरको गुणस्तर परीक्षण गर्न उपकरण आयात गरिँदै

मोवाइल टावरको गुणस्तर परीक्षण गर्न उपकरण आयात गरिँदै


रामराजा श्रेष्ठ
27
Shares

रक्षा रेग्मी

५ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावर र फ्रिक्वेन्सी अनुगमनका लागि मेसिन आयात गर्ने भएको छ । मेसिन आयातका लागि म्याप इन्टरप्राइजेज कम्पनीसँग सम्झौता भइसकेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए । साथै, म्याप इन्टरप्राइजेजमार्फत जर्मनी र मलेसियाबाट दुईथरी उपकरण आयात गर्न लागेको उनले जानकारी दिए ।

मिश्रका अनुसार टावरको गुणस्तर परीक्षण गर्ने यन्त्र ‘क्वालिटी अफ सर्भिसेस’ (क्युओएस डिभाइस) जर्मनीबाट आयात गरिनेछ । जसको मुल्य ७७ लाख रुपैयाँ पर्नेछ ।

त्यसैगरी फ्रिक्वेन्सीको अनुगमन गर्न भने मलेसियाबाट ‘प्वाइन्ट अफ सर्भिस ड्राइभ टेस्ट’ (पिओएस) डिभाइस नामक मेसिन ल्याइने भएको छ । जसको बजार मुल्य भने ७३ लाख रुपैयाँ पर्ने बताइएको छ । ‘दुवैथरी उपकरण आयातका लागि सम्झौता भइसकेको छ,’ मिश्रले भने, ‘ चाँडै नै उपकरण आयात हुनेछ ।’

प्राधिकरणले सेवाप्रदायकका टावर तथा उनीहरूले लिएको फ्रिक्वेन्सी क्षमताअनुसार चले–नचलेको अनुगमन गर्न मेसिन आयात गर्न थालेको हो । प्राधिकरणे विशेषगरी सेवा प्रदायकका बिटिएस टावरले आफ्नो क्षमता अनुसारको सिग्नल छोडे नछोडेको अनुगमन गर्नेछ । त्यस्तै उनीहरूले प्राप्त फ्रिक्वेन्सी उपयोग गरे–नगरेको बुझ्नका लागि समेत अनुगमन गर्ने कार्ययोजना बनाएको छ ।

उनका अनुसार उपकरण आयात भए लगत्तै अनुगमनको काम शुरु गरिने छ ।

हाल विभिन्न सेवा प्रदायकहरुको बिटिएस टावरमा समस्या देखिएको बताउँदै आएका छन् । मोबाइलमा फोन नलाग्ने, फोन काटिने, नेटवर्क नआउनेलगायत थुप्रै समस्या भइरहेकाले प्राधिकरणले अनुगमन गर्न लागेको हो । कतिपय सेवाप्रदायकले फ्रिक्वेन्सीको समेत सदुपयोग नगरेको आरोप लाग्दै आएको छ ।

अहिले अनुगमन तथा परीक्षण के कसरी गर्ने भन्ने विषयमा तयारी भइरहेको छ भने बिटिएस टावरको मापदण्ड निर्देशिका समेत तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL