Logo

कोरोनाले छेकेन चीनतर्फको आयात व्यापार, भारततर्फको खस्कियो

कोरोनाले छेकेन चीनतर्फको आयात व्यापार, भारततर्फको खस्कियो



काठमाडौं । चीनको हुवेईस्थित वुहान शहरबाट सुरु भएको कोरोना भाईरसका कारण हालसम्म २ हजार ५ सय भन्दा बढीले ज्यान गुमाईसकेका छन । विश्व अर्थतन्त्रमा ठुलो धक्का पुगेको छ । यसकै कारण नेपालको आन्तरिक तथा बाह्य व्यापारमा ठुलो असर समेत परेको छ ।

तर यसरी पछिल्लो डेढ महिनादेखि महामारीको रुपमा विश्वभरी नै फैलिरहेको कोरोनाले चीनसँग नेपालको आयात व्यापारमा भने त्यति ठुलो असर पारेको छैन । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ७ महिनाको तथ्याङ्कलाई विश्लेषण गर्दा चीनसँगको आयात व्यापार गत बर्षको सोही अवधिको तुलनामा बढेको छ ।

विभागका अनुसार पछिल्लो ७ महिनामा मात्रै चीनबाट नेपालमा १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा झण्डै १२ अर्ब रुपैयाँले बढी हो । गत बर्षको सोही अवधिमा चीनबाट १ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको थियो ।

चालु अर्थिक बर्षको ७ महिनामा चीनसँग नेपालको व्यापारघाटा १ खर्ब ३१ अर्ब ५६ करोड रुपैयाँको छ । गत बर्ष भने चीनसँगको व्यापारघाटा १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँको थियो ।

चालु आवमा चीनतर्फको आयात व्यापार बढेपनि निर्यातको व्यापार भने खस्किँदो छ । गत बर्ष चीनसँग १ अर्ब २२ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार गरेको नेपालले यो बर्षको सोही अवधिमा जम्मा १ अर्ब ६ अर्ब बरारबरको मात्रै निर्यात व्यापार गरेको छ ।

पछिल्लो समय फैलिएको कोरोना भाईरसको महामारि फैलिएपछि पुसको अन्त्यदेखि माघको अन्त्यसम्म मात्रै १४ अर्ब ३७ करोड रुपैयाँ बराबरको मालबस्तु चीनबाट आयात भएको छ । तर मंसिर अन्त्यदेखि पुस अन्त्यसम्म भने करिव १६ अर्ब रुपैयाँ बराबरको मालवस्तु चीनबाट आायात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

तर गत आर्थिक बर्षको तुलनामा चालु आवको ७ महिनामा भारततर्फको आयातमा भने केही संकुचन आएको छ । विभागको पछिल्लो तथ्याङ्क अनुसार भारतबाट ४ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ बजारबरको मालवस्तु आयात भएको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा झण्डै ४३ अर्ब रुपैयाँले कम हो । गत आवको पहिलो ७ महिनामा भारतबाट मात्रै ५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको थियो ।

यस्तै चालु आवको पछिल्लो ७ महिनामा भारततर्फ ४५ अर्ब ३९ करोड रुपैयाँ बराबरको निर्यात व्यापार भएको छ । जुन गत बर्षको तुलनामा १३ अर्ब रुपैयाँले बढी हो ।

चालु आवमा नेपालको समग्र व्यापारघाटा २२ दशमलव ४१ प्रतिशतले ओरालो लागेको छ । चालु आवको पछिल्लो ७ महिनामा नेपालले ८ खर्ब ३ अर्ब रुपैयाँ बराबरको मालवस्तु विभिन्न मुलकबाट आयात गरेको छ जुन गत बर्षको तुलनामा ३ दशमलव ३६ प्रतिशतले कम हो । गत बर्षको सोही अवधिमा नेपालले विभिन्न मुलुकबाट ८ खर्ब ३३ अर्ब बढीको सामान आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL