रामराजा श्रेष्ठ
३१ असार, काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले २० करोड ९१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले आर्थिक वर्ष २०७०/७१ को अन्त्य सम्ममा सो घाटा व्यहोरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले जडीबुडी संकलन तथा प्रशोधन गरी विक्रीवितरण गर्ने कार्य गर्दै आएपनि आवश्यकभन्दा बढी कर्मचारी तथा बजारको माग अनुसार जडीवुटी उत्पादन गर्न नसकेका कारण घाटा व्यहोर्दै आएको हो ।
कम्पनीले हर्वल प्रोडक्ट उत्पादन गर्दै आएको छ । जसमा कोरा जडीबुटी, सुगन्धित तेल, हर्वल केयर, एक्स्ट्राक्टलगायतका जडीबुटी उत्पादन तथा विक्री गर्दे आएको छ । कम्पनीले चालू आवमा ७ करोड ६८ लाख रुपैयाँको सुगन्धित तेल र ६ करोड ९४ लाख रुपैयाँको हर्वल केयर विक्री गर्ने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्यमध्ये ८५ प्रतिशत मात्र पुराहुने अनुमान रहेको छ ।
सम्भावना बढी हुँदाहुँदै पनि एकदमै कम उत्पादन तथा विक्री गरिएकाले कम्पनी बर्षेनी घाटामा गइरहेको कम्पनीका एक अधिकारीले बताए । ‘कम्पनीबाट उत्पादित सन्चो, सुगन्धित तेलको माग एकदमै बढी छ,’ ती अधिकारीले भने, ‘बजारमा माग भएपनि कम्पनीले उत्पादन तथा विक्री गर्न सकेको छैन ।’ कुशल व्यवस्थापनको अभाव तथा बढी कर्मचारी भएकै कारण घाटामा गइरहेको छ ।
कम्पनीले चालू आवमा २९ टन सुगन्धित तेल उत्पादन गर्ने लक्ष्य लिएकोमा त्यसको ६८ प्रतिशतमात्र उत्पादन हुने भएको छ । त्यसैगरी, ४२ हजार सीसी हर्वल केयर प्रोडक्स उत्पादन गर्ने लक्ष्य लिएकोमा ३२ हजार सीसी मात्र उत्पादन हुने अनुमान गरिएको कम्पनीले जानकारी दिएको छ ।
हाल कम्पनीले सरकारलाई ७ करोड ३५ लाख रुपैयाँ ऋण तथा दायित्व तिर्न बाँकी रहेको छ । चालू आवको अन्त्यसम्ममा व्याज रकम मात्र ७ करोड ९ लाख रुपैयाँ पुग्ने देखिएको छ ।