नेपालको पर्यटन अहिले कहाँ पुग्यो वा अहिले विश्वमा नेपाली पर्यटनको स्थान कहाँ छ भन्ने प्रश्न धेरैको छ । यसको उत्तर भने हिजो हामी कहाँ थियौ भन्ने ठाउँबाटै खोज्नुपर्छ । अहिले हामी जहाँ छौं, त्यो हामीले गरेको लामो समयको मेहनतकै परिणाम हो । पर्यटन क्षेत्रमा हामीले गर्न नसकेको होईन । पहिलेभन्दा धेरै भएको छ, विकास भएको छ, पर्यटकको संख्या पनि बढेको छ । त्यतिबेलादेखि अहिलेसम्म धेरै ठूलो परिवर्तन भएको छ । अहिले धेरै क्षेत्रमा पर्यटन पूर्वाधार विकास भएको छ । देशैभर पर्यटकका लागि होटल खुलेका छन् । काठमाडौंलगायत बाहिर पनि होटलको संख्या धेरै बढेको छ । पर्यटनका अरु क्षेत्रमा पनि सन्तोषजनक विकास भएको छ । तर, हाम्रो एउटै गुनासो के हो भने पूर्वधारमा चाहीं हामीले जति सोचेका छौं, त्यो गतिमा विकास हुन सकेको छैन ।
विदेशबाट नेपाल आउन सबैभन्दा पहिलो र सहज माध्यम भनेको जहाज हो । त्यसका लागि हाम्रो ध्वजावाहकको जहाज राम्रो हुनुपर्छ । त्यसमा अहिले विभिन्न समस्या छन् । पहिले हाम्रो ध्वजावाहक निकै राम्रो थियो । युरोप, जापान र अमेरिकासम्म उड्थ्यो । त्यसले गर्दा विश्वभरबाट राम्रा पर्यटक ल्याउन सकिएको थियो । विश्वका प्रमुख र विकसित देशसम्मै पुगेर पर्यटकलाई हाम्रै जहाजले ल्याउँदा एकतातिर हाम्रो देशको प्रर्वद्धन हुन्थ्यो भने अर्कोतिर पर्यटकलाई नि सजिलो हुन्थ्यो । यसले हामीलाई पनि धेरै फाईदा हुन्थ्यो ।
तर, बीचमा हाम्रो एयरलाईन्समा समस्या आयो । हामीले गुडविल गुमायौं । जतिबेला नेपाल एयरलाइन्स बलियो थियो, अरु जहाज कम्पनी पनि त्यति धेरै थिएनन् । इन्डियन एयरलाईन्स र अरु एक दुईओटा मात्रै थिए । थाई एयरवेज पहिलेदेखि नेपाल आईराखेकै हो । अरु एयरलाईन्स आएको धेरै दिन पनि भएको छैन । हाम्रै ध्वजाबाहकमार्फत आउँदा पर्यटक राम्रै थिए, त्यतिबेला । त्यसबेला भएका सेवा सुविधा, होटलले माग धान्न सकिरहेका थिए ।
प्रवद्र्धनको कुरा
अहिले पर्यटन प्रर्वद्धनको निकै ठूलो महत्व र चर्चा छ । तर, नेपालमा यसको कुरा गरिरहँदा जति पर्यटनको विकास र देश–विदेशमा प्रचार गर्ने काम भएको छ, त्यो सबै निजी क्षेत्रले नै गरेको छ । नेपालमा जति होटल, ट्राभल एजेन्सीजलगायत अन्य पर्यटकीय व्यवसायहरु खुलेका छन्, तिनले नै नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन । विश्वभर आयोजना हुने ट्राभल फेयरहरु जस्तो आईटीभी, बीआईटीमा पनि निजी क्षेत्र पुगेकै छ ।
सरकारको एउटा निकायको उपस्थिति पनि हुन्छ तर निजी क्षेत्र नै हो विदेश गएर आफ्नो प्याकेज बिक्री गरेर पर्यटक ल्याउने । निजी क्षेत्रले सरकारसँग कस्तो अपेक्षा राखेको छ भने देशमा पर्यटक ल्याउन आवश्यक ‘इन्फ्रास्ट्रक्चर’ र ‘सुपर स्ट्रक्चर’ दुवै सरकारले बनाइदिओस । पर्यटकीय गन्तव्यको पहिचान सरकारले गर्ने होइन, त्यो काम निजी क्षेत्रले गर्ने हो । जहाँजहाँ सम्भव छ, जहाँ उडान हुन्छ, त्यहाँ निजी क्षेत्रले जसरी पनि पर्यटक लगेकै हुन्छ ।
पर्यटकको गुणस्तर
अहिले पर्यटकले गर्ने खर्चमा समेत कमी आएको छ । संसारभर आर्थिक गतिविधिमा गिरावट आएको छ । धेरै यात्रुले पहिला जति खर्च गर्न सक्थे, अहिले सक्दैनन् । किनभने पर्यटक हाम्रो जस्तो देशमा आउने भनेको पैसा बचत गरेर आउने हो । यो उनीहरुको बिदाको समय हो । पैसा बचाएर बिदामा आउने पर्यटक धेरै भएकाले पनि पर्यटकले गर्ने खर्च कम देखिएको हो ।
त्यसैगरी नेपालमा आउनलाई हवाई भाडा साह्रै महँगो छ । अरु देशमा जान हवाइ भाडा सस्तो छ । महँगो हवाई भाडाले पनि धेरै पर्यटक यहाँ आउन नसकेको हो । जस्तो युरोपबाट थाइल्याण्ड जानु सस्तो छ, यहाँ आउन महँगो छ । त्यसले गर्दा नेपाल आउने पर्यटकमा धेरै कटौति भएको छ । पैसा बचत गरेर मान्छेले कसरी नेपाल आउन सक्छ ? उ त जहाँ सस्तो छ त्यहाँ जाने हो । त्यसैले हामीले याद गर्नुपर्ने कुरा के हो भने नेपालमा पर्यटकको बसाई कम भएको हो ।
अर्को कारण के छ भने भुटान धेरै चर्चित छ । भुटान चर्चित भएकाले यहाँ आएर एक रात बस्ने अनि भुटान जाने गर्छन । भुटानबाट फर्कन्छ, एकरात बस्छ । त्यसो गर्दा हामीकहाँ दुई रातको मात्रै यहाँ बसाई हुने गर्दछ । यस्तो प्याकेज नै नेपालबाट बिकिरहेको छ । यसैले मुख्य कुरा पर्यटकको गुणस्तरसँगै उनीहरुको बसाई लम्ब्याउनु हाम्रो आवश्यकता हो । पर्यटक जति धेरै दिन नेपाल बस्छ, नेपाललाई त्यति धेरै फाइदा हुने हो ।
गन्तव्य विकास
अहिले हाम्रा पर्यटन गन्तव्य निकै सीमित र साँघुरा छन् । पर्यटकलाई घुमाउने गन्तव्य काठमाडौं, पोखरा, चितवन र केही हिमाली क्षेत्रमा मात्रै सीमित छ । हामीले अब यी सँगै थप अरु गन्तव्य पनि विकास गर्नु पर्यो । पश्चिममा बर्दिया, रारामा सेवासुविधा दिएर पर्यटक लैजान सक्यौं भने उनीहरुको बसाई लम्ब्याउन सकिन्छ ।
बुद्धिज्म अहिले संसारभर फैलिइरहेको छ । नेपालमा जुन प्रकारको भाषिक, साँस्कृतिक र प्राकृतिक विविधता छ, त्यो अरु ठाउँमा पाईंदैन । यो बहुपरम्परा भएको समाज हो । उनीहरुको संस्कृति परम्परा हाम्रोभन्दा धेरै फरक छ । त्यसैले यसलाई प्रर्वद्धन गर्न सक्यौं भने नेपाललाई धेरै फाइदा हुने देखिन्छ । तर, हामीले पर्यटकलाई हामीसँग यस्तो नयाँ कुरा छ नेपाल घुम्न आउ, सन्तुष्ट पारेर पठाउँछौं भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।
भ्रमण वर्ष
हालैमात्र औपचारिक रुपमा नेपाल भ्रमण बर्ष २०२० शुरु भएको छ । यो एउटा अभियान हो । अभियान भन्नासाथ पर्यटक थुप्रिन्छन् भन्ने छैन । अहिले नै टन्न पर्यटक आउँछन् भनेर सोच्ने र आएनन् भनेर कराउने होईन । नेपाल आउनुस् यता यस्तो राम्रो छ भन्ने विश्वास संसारलाई दिलाउनुपर्यो, सबै सजनका लागि नेपाल राम्रो गन्तब्य हो भनेर अभियान चलाउनुपर्यो ।
अनि सरकारले जोड दिने भनेको पूर्वाधारमा हो । विमानस्थलमा आधुनिक सेवा सुविधा उपलब्ध हुनुपर्छ । पर्यटकलाई त्यहाँ सजिलो होस, ब्यागेज कुर्नुपर्ने वातावरण नहोस, ट्राफिक जाम नहोस, घण्टौंसम्म आकाशमा होल्ड भएर बस्दा पर्यटकमात्रै होईन हामीलाई पनि डर लाग्छ । नेपालमा अहिले हामीले २० लाख पर्यटक मात्रै भनेका छौ । २० लाख भनेको केही पनि होईन । त्यो भन्दा धेरै आउँछ तर हामीले आउने ठाउँ, बस्ने र घुम्ने ठाउँ बनाइदिनुप¥यो ।
हामीसँग विकल्पहरु पनि प्रशस्त छन् । जनकपुर, लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथजस्ता धार्मिकस्थल छन् । धार्मिक पर्यटकमात्रै आए पनि हामीसँग त्यस्ता स्थानहरु प्रचुर मात्रामा छन् । अर्को हाम्रो संस्कृति छ, विश्वसम्पदा छ, नेपालीहरु मिलनसार छन् । विदेशीलाई राम्रो व्यवहार गर्छन । त्यसैले ‘अतिथि देवो भवः’को हाम्रो भावना भने हराउनु भएन । स्वागत गर्ने जुन हाम्रो संस्कृति छ, त्यसलाई अस्वीकार गर्नुभएन । ठग्ने काम नगरौं, मोलमोलाई नगरौं, पर्यटकले घटाउन खोज्यो भने हामीले घटाउने काम नगरौं । यसले हाम्रो इमेज बिगार्छ ।
अहिले भ्रमण वर्षमा एकै वर्षमा २० लाख पर्यटक भित्र्याउने चर्चा चलेको छ । यसलाई पक्कै पनि सकारात्मक नै भननुपर्छ । संख्या हामीलाई चाहिन्छ, किनभने अहिले होटलहरु धेरै बनेका छन् । ती होटलहरु फरकफरक स्तरमा बनेका छन् । हामीले सबै किसिमको पर्यटक ल्याउनुपर्छ, धेरै खर्च गर्ने पर्यटक मात्रै होईन । धेरै खर्चालु पर्यटकले सेवासुविधा खोज्छ त्यो पाउने अवस्था भयो भने उ अवश्य पनि आउँछ । उनीहरुलाई हामीले बताउन सक्यौं, देखाउन सक्यौं भने आउँछ । हाम्रो हिमालमा ट्रेकिङ हुन्छ । अहिलेसम्म नेपालमा के भएको छ भने हाम्रो सगरमाथा पर्वतारोहण र ट्रेकिङले प्राथमिकता पाएको छ । त्यो गर्दा पैसावाल आउँदैनन् । पैसावाला आए पनि एक दुई जना मात्रै आउलान् । हामीले सबै किसिमको पर्यटक बोलाउन सक्यौं भने फाइदा हुन्छ । मुख्य कुरा पर्यटकका लागि हामीले दिने आतिथ्यता बाहिरबाट आयात गर्नु नपरोस, त्यता ध्यान दिन जरुरी छ ।
स्वस्थ प्रतिस्पर्धा
हामीले होटलको दर एउटै राख्नुपर्छ । ५ तारे, ४, ३, २ र १ तारे सबैको आफ्नो–आफ्नो दर राख्नु पर्छ । एकै किसिमको दर होस, त्योभन्दा बढी लोड पर्यटकलाई पार्नु हुँदैन । ५ तारे होटलले ३ तारेको दर दियो भने ३ तारे मर्छ । अहिले ६० डलरमा ५ तारे होटलले कोठा बेचिरहेका छन । सरकारले कम्तिमा पनि यसको दर यति भनेर तोक्नुपर्छ । यदि त्यसो गरिएन भने मापदण्ड नै बन्दैन । होटलको दर तलमाथि हुँदा मान्छेहरु आउनै छाडिसकेको अवस्था छ ।
अहिले विदेशी चेन होटल नेपालमा आइरहेका छन्, उनीहरुको बिक्री गर्ने ठाउँ बाहिर छ । उनीहरुको सबै सोल सेक्युिरटी बाहिरै छ । उनीहरुको धेरै ठूलो क्लाउड छ, शक्ति छ । यहाँबाट हाम्रा एजेन्टहरुले मात्रै गरेर हुँदैन, सम्भव पनि छैन । त्यसैले हामीले रेट कन्ट्रोल गर्न सक्यौं भने अर्को होटल बनाउन सक्छौं । अहिले ठमेलमा राम्रा होटलहरु खुलिरहेका छन्, सानै भए पनि । बाहिरको हेरेर अहिले धेरै राम्रा होटलहरु आईरहेका छन् । त्यसैले हामीले पैसा बढाउन सक्छौं । त्यसले गर्दा के हुन्छ भने यहाँ राम्रा पर्यटक आउँछन् ।
यसलाई हामीले राम्रो गन्तव्य वा खर्च गर्ने ठाउँ भनेर पहिचान बनाउन सक्छौं । त्यो पहिचान दिनलाई सरकार चुकिरहेको छ । सरकारको मद्धत चाहिन्छ हामीलाई । एउटा कन्ट्रोल लेभल चाहिन्छ । यतिमा सेल गर्छौं यो भन्दा हामी तल जान सक्दैनौं, हाम्रो सेवा सुविधा यो छ भनेर हामी भन्न सक्छौं । मुलुकको अर्थतन्त्रमा १० प्रतिशत योगदान दिन हामीले आफ्नै उत्पादन दिन सक्नु पर्छ । जुन स्तरमा हामी बार्गेनिङ गरेर घट्दै आईरहेका छौं, त्यो पक्कै पनि ठीक हैन । हामीले राम्रो गन्तव्य बनाएर पहिचान दिनुपर्छ र यसका लागि आफ्नो स्टान्डर्ड पनि कायम राख्नुपर्छ ।
(श्रेष्ठ द्वारिकाज होटल एण्ड रिसोर्टकी अध्यक्ष हुनु । उक्त लेख चेम्बर स्मारिकाबाट साभार गरिएको हो ।)