Logo

नेपालको पहिलो उद्योग : जसले राजनीतिक इतिहास नै परिवर्तन गर्यो

नेपालको पहिलो उद्योग : जसले राजनीतिक इतिहास नै परिवर्तन गर्यो



नेपालका धेरै ठूला राजनीतिक आन्दोलनमा मजदुरको योगदान सबैभन्दा अगाडि आउँछ । इतिहासमा पनि एउटा यस्तो समय थियो, जतिबेला मजदुर आन्दोलन मार्फत नै देशको राजनीतिक‘कोर्स’ परिवर्तन भएको थियो । यो हिसाबले विराटनगर जुट मिल उद्योग मात्र होइन, इतिहास पनिहो । नेपालकै पहिलो उद्योगका रुपमा स्थापना भएको यो उद्योग अहिले स्थापनाको ८० वर्ष नाघेको छ । पछिल्लो समय यो उद्योग उत्पादनभन्दा पनि खुल्ने र बन्द हुने विषयले चर्चामा रहिरह्यो ।

तर, यो उद्योग चलोस वा नचलोस यो सधैं नेपाली राजनीतीक इतिहासको चर्चामा रहन्छ नै । तत्कालीन समयमा श्रीरामलाल गोल्छाको नेतृत्वमा स्थापना भएको यो उद्योग नेपालको मजदुर आन्दोलनसँगै प्रजातान्त्रिक आन्दोलनको शुुरुवातको प्रारम्भ विन्दुको रुपमापनि चिनिन्छ । देशकै जेठो उद्योग विराटनगर जुट मिल नेपाली राजनीतिमा राजनेताको छवि बनाएका गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीतिक यात्रा शुभारम्भ भएको धरोहरका रुपमा सधैं सम्झिने गरिन्छ ।

विसं २००३ साल र २००७ सालमा जुट मिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो । विराटनगर जुट मिललाई नेपाली उद्योगको श्री गणेशको श्रेय मात्र होइन तत्कालीन नेपाली राजनीतिक आन्दोलनको बाटो तय गर्ने विन्दुको श्रेय पनि जान्छ ।

आन्दोलनको शुरुवात

विराटनगर महानगरपालिका १६ मिल्स एरियामा रहेको यो मिल उद्योगमा पहिला मजदुरहरुले व्यवस्थापनको विरोधमा आन्दोलन शुरु गरेका थिए । तर, पछि त्यो आन्दोलन तत्कालीन राणाशाहीको विरुद्धमा देशव्यापी आन्दोलनको रुपमा परिणत भएको थियो । मजदुरका लागि न्यूनतम सुविधा नभएको, मजदुर अधिकार कुण्ठित गरिएको तथा मिल सञ्चालकले मजदुरको कामको सम्मान नगरेको आरोप त्यतिबेला मजदुरहरुले लगाएका थिए । त्यतिबेला मिलमा काम गर्ने मजदुरको अवस्था निकै दयनीय थियो । मजदुरहरुका लागि पिउने पानीसम्मको अभाव थियो । जसले गर्दा सन् १९४७मार्च ४ मा आन्दोलन शुरु भयो । जसको नेतृत्व गिरिजा प्रसाद कोइराला, तारिणिप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराजअधिकारीले गरेका थिए ।

शुरुमा आन्दोलन विशुद्ध मजदुरका अधिकारलाई लिएर मात्र गरिएको थियो । तर, पछि मजदुरको राजनीतिक अधिकार माग गर्दै संगठनको अधिकारको पनि माग चर्कियो । यसैक्रममा काँग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालासमेत आफ्ना समर्थकहरुसहित मार्च ९ मा सो आन्दोलनमा सहभागी भए । जसका कारण आन्दोलन झन् चर्कियो । सो आन्दोलन दबाउन तत्कालीन राणा शासकले विराटनगरमा फौज पठाए । विराटनगर फौज पुगेर नेताहरु पक्राउ परेसँगै आन्दोलन पनि समाप्त भयो । केही नेताहरु भागेर भारत पुगे । विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणिप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई बन्दीका रुपमा काठमाडौं ल्याइयो । यसपछि नेपाली काँग्रेसले भारतको जोगवनीमा सम्मेलन बोलायो र राष्ट्रव्यापी सत्याग्रह घोषणा गर्यो । यसपछि देशव्यापी रुपमा राणा शासन विरुद्ध आन्दोलन प्रारम्भ भयो ।

यसै क्रममा सन्् १९४७ अप्रिल १३ मा विराटनगर, काठमाडौं, जनकपुर र वीरगञ्जमा हजारौं सत्याग्रहीले आफैं गिरफ्तारी दिए । उनीहरुले सबै राजनीतिक बन्दीहरुको रिहाईको माग तथा नागरिक अधिकार स्थापना गर्न माग गरे । यस्तै काठमाडौंमा हजारौं प्रदर्शनकारी सडकमा निस्केर राणा शासन विरुद्ध आन्देलन थाले । यसैक्रममा मे १६ मा तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेर राणाले ऐतिहासिक सम्बोधन गर्दै सुधारको घोषणा गरे । यसरी अगाडि बढेको आन्दोलनले नै विसं २००७ मा नेपालबाट १०४ वर्षीय राणा शासन समाप्त हुन पुग्यो । – सन्दर्भ सामग्री विकिपेडियाबाट लिइएको हो

प्रतिक्रिया दिनुहोस्