Logo

भुकम्पले वस्तु आयातमा कमी , सुन,सुपारी र सोयाबिनको आयात घट्यो

भुकम्पले वस्तु आयातमा कमी , सुन,सुपारी र सोयाबिनको आयात घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

४ असार , काठमाडौं । भुकम्पका कारण गत वैशाख महिनामा विदेश बाट हुने वस्तु आयात उच्च दरले घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आवको पहिलो १० महिनासम्मको आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकले चैतको तुलनामा वैशाखमा वस्तु आयात २८ दशमलव ४ प्रतिशत घटेको बताएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सस्तिँदै जानु र सुन, सुपारी, कोइला तथा कच्चा सोयाबिन तेलको आयातमा भएको कमीका कारण वस्तु आयात घट्न गएको राष्ट्र बैंकले बताएको छ ।

त्यस्तै, उपभोग्य वस्तुको आयातमा पनि कमी आएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । आयातमा भएको कमीले निर्यात घट्दा पनि निर्यात–आयात अनुपातलाई संकुचित बनाउन सफल भएको छ । गत वर्ष १२ दशमलव ९ प्रतिशत रहेको यस्तो अनुपात अहिले घटेर ११ दशमलव ३ प्रतिशतमा झरेको छ ।

तर, गत वर्षको यसै अवधिको तुलनामा भने वस्तु आयातको आकार ८ दशमलव १ प्रतिशत बढेर ६ खर्ब २८ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ प्रतिशतभन्दा धेरैले बढेको थियो । वस्तु आयातमा केही कमी आएको देखिए पनि यसले व्यापार सन्तुलनमा भने सहयोग गर्न सकेन ।

चालू आवको वैशाख मसान्तसम्म नेपालबाट हुने वस्तु निर्यात गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ५ प्रतिशत घटेर ७० अर्ब ९८ करोड रुपैयाँमा सीमित भएको छ । यसबाट वस्तु व्यापार घाटा १० दशमलव १ प्रतिशतले बढेर ५ खर्ब ५७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्