Logo

पर्यटन बर्ष लक्षित छुटमा प्रतिस्पर्धा, हान पछि होमस्टेले दियो २० प्रतिशत छुट

पर्यटन बर्ष लक्षित छुटमा प्रतिस्पर्धा, हान पछि होमस्टेले दियो २० प्रतिशत छुट



काठमाडौं । नेपाल ‘भ्रमण वर्ष–२०२०’ को लागि होटल एशोसिएशन अफ नेपाल (हान) पछि घरबास (होमस्टे) ले पनि पर्यटकलाई छुट दिने भएको छ ।

बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले भ्रमण बर्ष भरीनै खाना र आवासका लागि २० प्रतिशत छुट दिने गरी निर्णय भएको होमस्टे एशोसिएसन नेपाल (होसान) का अध्यक्ष केसव प्रसाद बडालले जानकारी दिएका छन ।

भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कास्कीको कालाबाङमा बसेको बैठकले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको बडालले जानकारी दिएका हुन ।

‘उक्त बैठकले विदेशमा रहेका नेपालीहरु मार्फत विदेशी साथीलाई नेपाल घुम्न जानको लागि अनुरोध गर्न समेत निर्णय गरेको छ’, उनले भने, ‘होसानले घरवासमा आउने पर्यटकका लागि उपलब्ध भएसम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रमले मनोरञ्जन दिने कार्यक्रम तय गरेको छ ।’

बडालका अनुसार सकेसम्म रैथाने बालीलाई घरवासमा प्रयोग गरी ठूला होटल, रेस्टुराँभन्दा फरक परिकार दिने अभियानमा घरवास पर्यटन व्यवसायीहरु रहेको छ । पछिल्लो समय कर्णाली प्रदेशमा घरवास पर्यटन प्रवर्द्धनमा आफूहरु लागिरहेको समेत उनले जानकारी दिएका छन ।

सरकारले जारी गरेको होमस्टे सञ्चालन कार्यविधि–२०७३ अनुसार तत्कालै अनुगमन थालिने योजना होसानले बनाएको छ । सरकारले दिएको कर छुट पाउनकै लागि होटललगायत पर्यटन व्यवसायीले अवैध रुपमा घरवास पर्यटन सञ्चालनमा ल्याएको गुनासो होसानमा आएको छ उनले भने ।

नियमित अनुगमन नहुँदा फाइदा उठाइरहेका छन, अनुगमनपछि कार्यविधिले तोकेअनुसारको मापदण्ड पुगेका होमस्टे मात्रै सञ्चालनमा आउनेछन । होसानका अनुसार हाल देशका ५७ जिल्लामा घरवास सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्