Logo

त्रिशूली ३ बी निर्माणका लागि टेण्डर खुल्यो

त्रिशूली ३ बी निर्माणका लागि टेण्डर खुल्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३२ जेठ, काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाले निर्माणका लागि ठेकेदार छनौंट प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिभिल निर्माण, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल एवम् इलेक्ट्रिक कार्यका लागि ठेकेदार छनोट प्रक्रिया सुरु गरेको हो । कम्पनीले सोमवार सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीले प्रबद्र्धन गरेको त्रिशूली जलविद्युत् कम्पनी सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा स्थापना गरिएको हो । प्राधिकरणले चिनियाँ सहुलियत ऋणमा निर्माण गरिरहेको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको पानी प्रयोग गरेर नुवाकोटको मनकामनामा विद्युत् गृह निर्माण गर्ने गरी यो आयोजनाको डिजाइन गरिएको छ । सुरुमा ३७ मेगावाट जडित क्षमतामा डिजाइन गरिएको भएपनि पछि ‘हेड’ बढाएर ४२ मेगावाट पुर्याइएको छ ।

नयाँ डिजाइन अनुसार आयोजनाको विद्युत्गृहमा २१ मेवा क्षमताका २ ओटा टर्बाइन जडान गरिने छ । फ्रान्सीस मोडेलको उक्त टर्बाइन प्रतिमिनेट ३ सय ७५ पटक घुम्नसक्छ । उक्त आयोजनाबाट वर्षात्को समयमा प्रतिवर्ष २ सय ४३ दशमलव ३४ गिगावाट घण्टा र हिउँदको समयमा प्रतिवर्ष ९४ दशमलदव ५४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ ।

सिभिल निर्माण सुरु भएको ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले ३०÷३० प्रतिशत लगानी गर्ने छन् । रसुवा र नुवाकोटका गाविस र जिविसले कुल लागतको ५ प्रतिशत हिस्सा लगानी गर्ने छन् । यी दुई जिल्लाका वित्तीय संस्थाका लागि ५ प्रतिशत सेयर छुट्याइएको छ । आयोजना प्रभावित नुवाकोट र रसुवाका स्थानीय बासीले पनि १० प्रतिशत सेयर पाउने छन् । त्यसबाहेक २० प्रतिशत लगानीमा १५ प्रतिशत सर्वसाधारण र बाँकी ५ प्रतिशत प्राधिकरण र टेलिकमका कर्मचारीबाट जुटाइने छ ।

५१ घनमिटर प्रतिसेकेण्डको दरले पानी पठाउनेगरी डिजाइन गरिएको यो आयोजना नदीको प्रवाहमा आधारित (रन अफ दी रिभर–आरओआर) परियोजना हो । रू. ७ अर्ब ४ करोड ९ लाख लगानी अनुमान गरिएको यो परियोजनाबाट वार्षिक ३ सय ३७ दशमलव ८८ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL