Logo

नेप्सेमा राजनीतिक सञ्चार, कहाँपुग्ला परिसूचक ?

नेप्सेमा राजनीतिक सञ्चार, कहाँपुग्ला परिसूचक ?


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर विश्लेषण

२९ जेठ, काडमाडौं । भुकम्पपछिको निराशाजनक परिस्थितिमा लगातार ओरालो लागेको नेप्से राजनीतिक सहमतिले उचालेको छ । तर, अब नेप्सेले कुन दिशा लेला त ? यही तवरले बढिरहला वा कुनै विन्दुबाट ‘टर्न’ होला ?

भुकम्प आउनुअघि सेयर बजारका विश्लेषक र धेरै लगानीकर्ताहरुले भन्ने गरेका थिए, संविधान जारी भयो भने नेप्से परिसूचकले कम्तिमा पनि २ हजार अङ्कको स्तर भेट्ने छ । मुलुकमा गणतन्त्र घोषणा भएको ठीक ३ महिना बित्दा २०६५ भदौ १५ मा ११ सय ७५ अङ्कमा पुगेको नेप्से त्यसयता भने ओरालो गतिमा थियो । त्यसका २ ओटा तत्कालिन कारण थिए । पहिलो तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले ‘सेयर बजार जुवाघर हो’ भन्ने अभिव्यक्ती दिएबाट लगानीकर्ता तर्सिए । अर्को नेपाल राष्ट्र बैंकले रियल स्टेट लगानी निरुत्साहित गर्न केही ‘कठोर’ कदमहरु चाल्यो ।

राजनीतिले पूँजीबजारलाई सबैभन्दा बढी प्रभावित पार्ने गरेको उदाहरणहरु संसारभर छन् । भारतमा केही महिनाअघि मात्रै नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि त्यहाँको सेयर बजारमा विश्वभरबाट लगानी ओइरिएको थियो । मोदीको दलले निर्वाचनमा बहुमत ल्याउने संकेत पाएदेखि उकालो लागेको सेयर बजार त्यही राजनीतिक घटनाका कारण करीब ६ हजार अङ्क बढ्यो । नेपालमा दोस्रो संविधानसभाको निर्वाचनपछि करीब २ सय ३० अङ्कको उछाल नेप्सेमा देखिएको थियो । के अब नेप्से लगानीकर्ताहरुले आशा गरेजस्तो २ हजार अङ्क भेट्टाउन पुग्ला त ?

करीब ४ वर्षयताको सेयर बजारलाई केलाउने हो भने अहिले नेप्से बढ्दो प्रबृत्तीमै देखिएको छ । नेप्सेको रेखाचित्रमा ८ सय ५० को स्तरमा निकै बलियो टेवा तयार भएको छ । पहिल्लो ‘डाउनफल’ पनि त्यही स्तरबाट खस्न सकेन र फर्कियो । प्राविधिक आधारहरुले अब नेप्से कम्तिमा पनि १ हजार ८३ अंकसम्म सजिलै बढ्नसक्ने देखाएको छ । रेखाचित्र विश्लेषणमा ‘डबल बटम’ आकृति तयार गर्न नेप्से त्यो स्तरमा पुग्नु पर्छ । तर, त्यस अघि पनि नेप्सेले ९ सय ९० अंकमा प्रतिरोधको सामना गर्नु पर्ने देखिन्छ । १ हजार ८३ अंकको बलियो प्रतिरोध तोड्न सके नेप्सेका लागि ११ सय ७५ अंकको ऐतिहासिक विन्दु नयाँ र कठिन लक्ष्य हुने छ ।

आधारभूत रुपमा पनि अहिले सेयर बजार ओरालो लाग्नुपर्ने कारण देखिँदैन । कम्पनीहरुको नाफामा ठूलो क्षति हुने संकेत देखिएको छैन । तथापि, नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुको क्षतिबारे प्रतिवेदन सार्वजनिक नगर्दा लगानीकर्तालाई केही अन्यौलता भने बाँकी छ । तर, प्रारम्भिक अनुमानहरुबाट सूचीकृत कम्पनीले ठूलो क्षति नभएको बताएपछि लगानीकर्ताको मनोबलमा सुधार भएको देखिन्छ । यसले सेयर बजारमा थप सुधार हुने संभावनालाई बलियो बनाउँछ । तथापि, पहिले अनुमान गरिएजस्तो २ हजार अंक भेट्ने संभावनाबारे भने अहिले प्राविधिक रुपमा पुष्टि गर्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL