Logo

दशैंको विदामा घुम्ने आन्तरिक पर्यटक २० लाख, पोखरा भन्दा चितवनमा देखियो आकर्षण

दशैंको विदामा घुम्ने आन्तरिक पर्यटक २० लाख, पोखरा भन्दा चितवनमा देखियो आकर्षण



काठमाडौं । निरन्तरको काम र थकान मेटाउने उपयुक्त समय दशैं विदा नै हो । अरुबेला संधै कामको चटारो भए पनि यो समयमा भने हामी आन्तरिक वा बाह्य भ्रमणका लागि जाने गर्दछौं ।

दशैं तिहार छुट्टी होस या अरु बेला केही समय पाउनसाथ हामी घुम्न निस्कन्छौं । एकिन तथ्याङक नभए पनि ४०–४५ लाखको संख्यामा आन्तरिक वा बाह्य भ्रमणमा जाने गरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीको भनाई रहेको छ ।

जोशीका अनुसार वार्षिक करिब ४५ लाख आन्तरिक पर्यटक घुम्न निस्कने गरेका छन् । सो मध्ये दशैंको विदा सदुपयोग गरी घुम्नेको संख्या २० लाख रहेको छ ।

‘पछिल्लो समयमा पोखरा, चितवन, लुम्बिनी लगायत ट्रेकिङ रुट, होमस्टे तथा धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ,’ उनले भने, ‘नेपाली पर्यटकहरु विशेष गरी ट्रेकिङ रुट, होमस्टे तथा धार्मिक क्षेत्रमा बढी भ्रमण गर्न रुचाउने गरेका छन् ।

दशैंको छुट्टीको सदुपयोग गर्न तथा रमाईला ठाउँहरुको अवलोकन गर्न आन्तरिक भ्रमणमा जानेको संख्या दिनदिनै बढ्दै गइरहेको पर्यटन ब्यवसायीहरु बताउँछन । ‘यो समयमा विदेशी पर्यटक आउने समय हो,’ एक व्यवसायीले भने, ‘तर पछिल्ला केही वर्षयता आन्तरिक पर्यटकले पोखरा चितवन लगायतका होटल भरिभराउ भएका छन ।’

पछिल्ला केही बर्ष पोखरामा आन्तरिक पर्यटकले भरिभराउ भए पनि यस पटक भने खासै पर्यटक नआएको पश्मिाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिएका छन ।

उनका अनुसार हाल पोखरामा दशैं तिहार लक्षित आउने आन्तरिक पर्यटक २५ प्रतिशतमात्रै रहेको छ । होटलमा पर्यटकका लागि चाहिने सेवा तथा सुविधा भए पनि विकासे पूर्वधारमा जोड दिन नसक्दा पर्यटकहरु कम मात्रमा आउने गरेको उनको बुझाई रहेको छ ।

उनका अनुसार सरकारले विमानस्थल बनाउनेकामलाई तिब्रता दिनु पर्ने तथा सडक यातायातमा विशेष जोड दिई सहज बनाएमा आन्तरिक तथा बाह्य पर्यटक थप्न सकिने छ । गत बर्षको तुलनामा यस बर्ष दशैंको समय छिटो भएकाले पनि कम पर्यटकले मात्रै होटल बुक गरेको तुलाचनले जानकारी दिएका हुन ।

त्यस्तै होटल तथा रेष्टुँरा ब्यवसायी संघ चितवनका अध्यक्ष दिपक ढकालका अनुसार चितवनमा भने ३५ प्रतिशत होटल बुकिङ भईसकेको छ । गत बर्ष दशैं तिहारको अवसरमा २२ प्रतिशतमात्रै होटलका कोठाहरु बुकिङ भए पनि यस बर्ष भने ३५ प्रतिशत पुगेको अध्यक्ष ढकालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL