Logo

वियरिस ट्रेण्डमा नेप्से, लगानीकर्तामा किन पर्दैछ मनोवैज्ञानिक असर !

वियरिस ट्रेण्डमा नेप्से, लगानीकर्तामा किन पर्दैछ मनोवैज्ञानिक असर !



काठमाडौं । यस हप्ता लगातार ३ दिनसम्म नेप्से परिसुचक ओरालो लागेको छ । मंगलबार अन्तिम समयमा आएर केही समय हरियो भएको नेप्से परिसुचक बन्द हुँन्दा रातो हुन पुग्यो ।

अघिल्ला दिनहरुमा लगातार दोहोरो अंकले घटेको नेप्से परिसुचक मंगलबार भने २ दशमलव २४ अंकले मात्र घट्न पुग्यो । लामो समयसम्म बजार नथामिएपछि लगानीकर्तामा समेत नकारात्मक प्रभाव परेका कारण बजारमा लगातार गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

केही सयमअघि नेप्से परिसुचक घटेपनि कारोबार रकम उच्च हुँदा लगानीकर्तामा केही आत्मबल बढेको थियो । तर, पछिल्लो समय परिसुचक र कारोबार रकम दुबैमा निरन्तर गिरावट आएपछि लगानीकर्तामा मनोबैज्ञानिक त्रास फैलिएको छ ।

बजार १२ सय अंकमा आएर केही दिन बढ्न सुरु गर्दा नेप्से ‘वियरिस ट्रयाप’मा परेको थियो । नेप्सेले केही दिन बढ्ने आसा देखाएपनि नेप्से परिसुचक केही समय वियरिस ट्रयापमा परेर पुनः ओरालो लाग्न सुरु गरेको एक विश्लेषकले बताए ।

बजार लामोसमयसम्म ओरालो लाग्दा नयाँ लगानीकर्ताको पर्ख र हेरको समय समेत लम्बिएको र बजारमा भइरहेका लगानीकर्ताले थप लगानी गर्न नसक्ने अवस्था आएका कारण पुन घट्न सुरु गरेको हो । बजार सुधारका लागि नियामक निकायले ल्याएको टुल्सले समेत काम नगरेको र नयाँ लगानीकर्ताहरु प्रवेश गर्न डराएका कारण हाल बजारमा भैरहेका लगानीकर्तामा समेत ठूलो त्रास फैलिएको छ । फलस्वरुप उनीहरु समेत घाटा खाएरै भएपनि बजारबाट बाहिरिने सोचमा पुगेको एक लगानीकर्ताले जानकारी दिए । ‘बजार दिनदिनै ओरालो लागेको छ तर सेयर सस्तिदा थप किन्नका लागि पैसा छैन,’ एक लगानीकर्ताले भने, ‘तसर्थ अहिले बजारमा भएका लगानीकर्ताहरु गर या मरको अवस्थामा पुगेका छन् ।’

बजारमा लगानीयोग्य पूँजीको अभाव तथा उच्च ब्याजदरका कारण पनि लगानीकर्ताहरु चेपुवामा परेका छन् । जसका कारण लामो समयदेखि बजार बढ्ने आशामा बसेका लगानीकर्ताहरु समेत चिन्तित बन्न पुगेका छन् । साथै अर्थमन्त्री डा. युवराज खतिवडाले बजारलाई सरकारले हस्तक्षेप गर्न सक्नेभन्दै अभिव्यक्ति दिने तथा नियामक निकाय नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृति चन्द्रसिंह साउदले पछिल्लो समय कालोधन बाहिरिएका कारण बजार घट्यो भन्दै दिएको अभिव्यक्तिले लगानीकर्तामा थप नकारात्मक प्रभाव पर्न गएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

कुनै समय दैनिक २ अर्ब रुपैयाँसम्मको कारोबार हुने बजार अहिले खुम्चिँदै २० करोड रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । मंगलबार पनि बजारमा २३ करोड ७९ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जुन घट्दो बजारका लागि एकदमै प्रत्युपादक हो । मंगलबार बजार समान्य अंकमा घटेपनि कारोबार रकमले साथ नदिँदा लगानीकर्तामा असर पुर्याएको छ । दिनभर कुनै पनि कम्पनीको सवा करोड रुपैयाँभन्दा बढिको सेयर खरिदबिक्री हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL