Logo

१९ प्रतिशतले बढ्यो घरजग्गा धितो कर्जा, हालसम्म सवा खर्ब प्रवाह

१९ प्रतिशतले बढ्यो घरजग्गा धितो कर्जा, हालसम्म सवा खर्ब प्रवाह


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२२ जेठ, काठमाडौं । चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर १ खर्ब २५ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम अघिल्लो वर्षको तुलनामा १८ दशमलव ८० प्रतिशत बढी हो । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तेस्रो त्रैमासिक आर्थिक प्रतिवेदनले यस्तो देखाएको छ । गत वैशाख १२ मा महाभुकम्प आउनुअघि बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा सवा खर्ब कर्जा प्रवाह गरेको केन्द्रिय बैंकले बताएको हो ।

धितोमा आधारित कुल कर्जामध्ये घरजग्गा धितोमा मात्रै ६३ दशमलव ७५ प्रतिशत कर्जा प्रवाह गरेको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ । गत वर्ष कुल कर्जाको तुलनामा घरजग्गा धितोमा जारी भएको कर्जाको अनुपात ४७ दशमलव ९१ प्रतिशत मात्रै थियो । यसले बैंक तथा वित्तीय संस्थाहरु पछिल्लो एक वर्षको अवधिमा कर्जा प्रवाह गर्दा धितोको विविधिकरणमा चुकेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले अन्य किसिमका धितोलाईभन्दा घरजग्गा धितोमा बढी विस्वास गरेको केन्द्रिय बैंकको तथ्याङ्कले प्रस्ट्याउँछ ।

स्थिर सम्पत्ती धितोमा जारी भएको कुल कर्जासँग घरजग्गा धितो कर्जाको अनुपात पनि ८५ दशमलव १ प्रतिशत छ । यस्तो अनुपात गत वर्षको यही अवधिमा ९४ दशमलव ८५ प्रतिशत थियो । यसले घरजग्गा बाहेकका स्थिर सम्पत्ती तर्फ बैंक तथा वित्तीय संस्था बढी आकर्षित भएको देखाउँछ । किनकी, गत वर्ष कुल कर्जाको ५१ दशमलव ५१ प्रतिशत कर्जामा मात्रै स्थिर सम्पत्ती धितो राखिएको देखिएको थियो । तर, चालू आवको ९ महिनामा ७४ दशमलव ९१ प्रतिशत कर्जा स्थिर सम्पत्ती धितोमा प्रदान गरिएको छ ।

केन्द्रिय बैंकको तथ्याङ्क अनुसार यो वर्ष कच्चा जुटको धितोमा प्रवाह भएको कर्जाको आकार उच्च दरले बढेको छ । यस्तो कर्जा गत वर्षको तुलनामा १ सय ७५ दशमलव ८ प्रतिशतले बढेको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ । गत वर्ष धितोका लागि आकर्षक देखिएको डोमेस्टिक बिल्स र व्यक्तिगत जमानतमा दिने कर्जाको बृद्धिदर भने यो वर्ष खुम्चिएको छ । गत वर्ष झण्डै १ सय २७ प्रतिशतले बढाइएको व्यक्तिगत जमानत कर्जा यो वर्ष १९ प्रतिशत मात्रै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्