Logo

एनसेलले १ बर्षमै १७ लाखले बढायो फोरजी प्रयोगकर्ता, टेलिकमका ग्राहक ७ लाखमै सिमित

एनसेलले १ बर्षमै १७ लाखले बढायो फोरजी प्रयोगकर्ता, टेलिकमका ग्राहक ७ लाखमै सिमित



काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले १ बर्षमा फोरजी ग्राहकको संख्या १७ लाखले वृद्धि गरेको छ । नेपाल टेलिकमभन्दा पछि फोरजी सेवा सुरु गरेको एनसेलले अघिल्लो बर्षको जेठ देखि चालु बर्षको जेठसम्म १६ लाख ८७ हजार २ सय ८५ जना ग्राहक बढाएको हो ।

यता सरकारी स्वामित्वको नेपाल टेलिकमले भने सो अवधिमा जम्मा १ लाख ९० हजार जना मात्रै फोरजी सेवाका ग्राहक वृद्धि गरेको छ । नेपाल टेलिकमले एनसेलले भन्दा अघि नै फोरजी सेवा संचालनको अनुमति पाएको थियो भने सोही अनुरुप संचालनमा ल्याएको थियो । तर समयमै निर्णय गरेर देशभर फोरजीको नेटवर्क विस्तार गर्न नसक्दा टेलिकम फोरजी सेवामा एनसेलभन्दा पछि परेको हो ।

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टका अनुसार एनसेलको फोरजी सेवा चलाउने ग्राहकको संख्या २७ लाख ६६ हजार २ सय ९८ जना पुर्याएको छ । एनसेलभन्दा अघि सेवा संचालनमा ल्याएको टेलिकमका फोरजीे ग्राहक संख्या जम्मा ७ लाख ८१ हजार ७ सय ७७ जना मात्र रहेका छन ।

गत बर्षको जेठमा एनसेलका फोरजी सेवा चलाउने ग्राहकको संख्या १० लाख ७९ हजार थिए । यस्तै नेपाल टेलिकमको फोरजी सेवा चलाउने ग्राहकको संख्या गत बर्ष ५ लाख ९१ हजार जना रहेको थियो ।

नेपाल टेलिकमले एनसेलभन्दा पनि अघि नै फोरजी सेवा संचालनको अनुमति पाएको थियो । तर कम्पनीले आफ्नो सेवा काठमाडौं र पोखरामा मात्रै सिमित राख्दा ग्राहकको वृद्धिदर न्युन हुन आएको छ । तर टेलिकमले अबको १ बर्षमा देशभर फोरजी सेवा विस्तार गर्नका लागि २ कम्पनीलाई जिम्मा दिईसकेको छ । ती कम्पनीले आवश्यक उपकरणहरु ल्याएर काम सुरु गरिसकेको र १ बर्षमा नै देशभर फोरजी सेवा पुग्ने टेलिकमले घोषणा गरिसकेको छ ।

यस्तै एनसेलले भने आफ्नो फोरजी सेवा सातै प्रदेशका १ हजार भन्दा बढि स्थानमा विस्तार गरिसकेको बताएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा हाल फोरजी सेवा प्रयोग गर्नेको संख्या ३७ लाख ४६ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL