Logo

१० बाणिज्य बैंकलाई ब्रोकर कम्पनी स्थापनाका लागि राष्ट्र बैंकको अनुमति, कहिले दिन्छ धितोपत्र बोर्डले लाईसेन्स ?

१० बाणिज्य बैंकलाई ब्रोकर कम्पनी स्थापनाका लागि राष्ट्र बैंकको अनुमति, कहिले दिन्छ धितोपत्र बोर्डले लाईसेन्स ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा बाणिज्य बैंकलाई ब्रोकर कम्पनी स्थापनका लागि अनुमति दिएको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ब्रोकर कम्पनी संचालनका लागि सहायक कम्पनी खोल्नका लागि अनुमति दिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

‘हामीले आवेदन दिएकामध्ये १० वटा बैंकलाई सहायक कम्पनीको रुपमा ब्रोकर कम्पनी खोल्न सम्बन्धित बैंकको प्रबन्ध पत्र तथा नियावलीमा सो उद्देश्य थप गर्न अनुमति दिएका हौं,’ उनले भने, ‘राष्ट्र बैंकको सहमतिसँगै उक्त बैंकहरुले सहायक कम्पनीको रुपमा ब्रोकर कम्पनी खोल्न पाउनेछन् ।’

राष्ट्र बैंकबाट ब्रोकर कम्पनी स्थापनका लागि अनुमति पाएका बैंकहरुले संचालनका लागि नेप्सेमा आवेदन दिनुपर्ने हुन्छ । नेप्सेले अध्ययन गरेर सिफारिस गरेको आधारमा मात्र नेपाल धितोपत्र बोर्डले संचालन अनुमति दिनेछ ।

हालसम्म कुनै पनि बैंकले ब्रोकर कम्पनी संचालनका लागि अनुमति माग्न नआएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । ‘बैंकहरुले सहायक कम्पनी स्थापनको लागि राष्ट्र बैंकबाट अनुमति लिने हो तर संचालनका लागि भने बोर्डले स्वीकृति प्रदान गर्नुपर्छ,’ उनले भने, ‘तर, आजका मितिसम्म कुनै पनि बैंकले ब्रोकर लाईसेन्सका लागि बोर्ड समक्ष अनुमति दिएका छैनन् ।’

निरौलाका अनुसार हालसम्म ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया, बैंक अफ काठमाण्डू, कुमारी बैंक लिमीटेड, सिद्धार्थ बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंकलाई उनीहरुको प्रवन्धपत्र र नियमालीमा ब्रोकर कम्पनी स्थापना गर्न सक्नेगरी उद्देश्य थप गर्न अनुमति दिइएको हो ।

सिभिल बैंकले लाइसेन्स पाउने प्रक्रिया सुरु भएको छ भने बाँकी ८ वटा वाणिज्य बैंकले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका छन् । आवेदन दिएका बैंकहरुमा कृषि विकास बैंक, हिमालयन बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक र सनराइज बैंक लिमिटेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्