Logo

नयाँ बजेट ल्याउन लागेको सरकारलाई पुरानो बजेट परिचालनमै चटारो, पूँजीगत खर्चको लक्ष्य भेटाउन दैनिक साढे ३ अर्ब खर्च

नयाँ बजेट ल्याउन लागेको सरकारलाई पुरानो बजेट परिचालनमै चटारो, पूँजीगत खर्चको लक्ष्य भेटाउन दैनिक साढे ३ अर्ब खर्च



काठमाडौं । आज अपरान्ह आर्थिक बर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्न लागेको सरकारले हालसम्म चालू आबको बजेटको ४३ दशमलव ८१ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । चालु आर्थिक बर्षको अन्त्यसम्म ८५ प्रतिशत भन्दा बढी पूँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले नयाँ बजेट भाषण हुँदासम्म लक्ष्यभन्दा न्यूनमात्र खर्च गरेको छ ।

सरकारले चालू आबमा पूँजीगत खर्चतर्फ विनियोजित गरेको सबै बजेट खर्च गर्ने हो भने अब दैनिक ३ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । जबकि अहिलेसम्म सरकारको सरदर दैनिक पूँजीगत खर्च परिचालन क्षमता ६३ करोड १० लाख रुपैयाँ मात्र रहेको छ ।

चालु आर्थिक बर्ष समाप्त हुन ४७ दिन बाँकी छ । तर सरकारले सो अबधिमा १ खर्ब ७६ अर्ब ४३ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । सरकारले सोमबारसम्म आईपुग्दा २ सय १८ दिनमा १ खर्ब ३८ अर्ब ५४ करोड रुपैयाँ मात्र खर्च गरेको छ ।

आफ्नो लक्ष्य भेटाउन सरकारले खर्चमा तीब्रता दिनुपर्ने देखिन्छ । सरकारले चालु आर्थिक बर्ष १३ खर्ब १५ अर्बको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म चालु खर्चतर्फ ६५ दशमलव ६७ र वित्तीय तर्फ ३५ दशमलव ११ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । हालसम्म समग्रमा कुल बजेटको ५६ दशमलव ८३ प्रतिशत मात्र खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्