Logo

आन्तरिक एयरपोर्ट धुलिखेलमा बन्ने, चिनियाँ कम्पनीले देखायो चासो

आन्तरिक एयरपोर्ट धुलिखेलमा बन्ने, चिनियाँ कम्पनीले देखायो चासो



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थल धुलिखेलमा बनाउने बताएका छन । उनले काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा आन्तरिक विमानस्थल बनाइने बताएका हुन ।
काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने बारेमा सरकार पछि नहटेको बताएका छन । मन्त्री बाँस्कोटाले भने, ‘एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ, हामीले अनुगमन गरिसकेका छौँ, यस विषयमा सरकार ब्याक भएको छैन ।’

काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणबारे एक चिनियाँ कम्पनीले चासो दिइरहेको पनि उनले जानकारी दिएका छन । ‘डोमेष्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ’, उनले भने, ‘अन्तर्रा्ष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेशन र होल्डिङका लागि लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौँ ।’

आन्तरिक विमानस्थलका लागि गत साल बनेपाको नागीडाँडा र धुलिखेलको देवीस्थान र चिसापानी ठूलीचौरको जमीन निरीक्षण गरिएको जानकारी दिँदै उनले भने, ‘आवश्यकताले पनि विकास निम्त्याउने हो, यसका लागि सरकार तयार छ ।’ मन्त्री बाँस्कोटाले समयले कसैलाई नपर्खने भएकाले अवसरका बेला चुनौतीको सामना गर्दै कुनै पनि हालतमा उद्देश्य पूरा गरेरै छाड्ने जिकिर गरेका छन ।रासस

प्रतिक्रिया दिनुहोस्