काठमाडौं । भ्यू टावर निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौं महानगरपालिकाले एक वर्ष समय थप गरेको छ ।
निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी दिएको छ ।
निर्माणको कामअन्तरगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम सुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख धु्रव काफ्लेले बताएका छन । उनका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो ।
भूमिगत तलाको काम अन्तिम चरणमा पुगेको छ । प्राइभेट–पब्लिक पार्टनरसीप (पीपीपी) मोडलबाट निर्माण यस भ्यू टावरको उपराष्ट्रपति नन्दबहादुर पुनबाट शिलान्यास गरी निर्माण कार्य सुरु गरिएको थियो ।
उनले भने, ‘नियमअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक समय थप्न मिल्छ ।’ स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोइले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । सुरु गरेको मितिले अहिलेसम्म हुनुपर्ने जति कामको प्रगति नदेखिएपनि पछिल्लो समय तीव्र रुपमा काम भइरहेको र यसरी नै काम हुने भए थप गरिएको समयमा काम सकिनेमा कामपाले विश्वास लिएको छ ।
सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । अहिलेभने काम भइरहेको छ । निर्माण कम्पनीले कामपालाई सुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ । उक्त कम्पनीले वार्षिक ९८ लाख रुपैयाँ कर कामपालाई बुझाउँदै आएको छ ।
गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । स्तम्भ निर्माणको लागत ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ ।
त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ ।
कुल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ ।
कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक २ करोड ३५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जानेछ /रासस