रक्षा रेग्मी
११ बैशाख, काठमाडौं । नेपाल टेलिकमका ग्राहकले जीएसएम तथा सीडीएमएका लागि छुट्टा/छुट्टै रिचार्ज किन्नुपर्ने बाध्यता अव हट्ने भएको छ । नेपाल टेलिकमले यस्तो झण्झट हटाउन एनटी रिचार्ज कार्ड विक्री गर्ने लागेको हो । आगामी जेठबाट यसप्रकारको युनिर्भसल कार्ड बितरण गरिने टेलिकमका सहायक प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । सो कार्डबाट जीएसएम तथा सीडीएमए दुवै सेवामा रिचार्ज तथा व्यालेन्स ट्रान्सफर गर्न सकिने उनले बताइन् ।
‘यो कार्ड प्रयोगमा आएसँगै जीएसएम तथा सीडीएमएमा व्यालेन्स ट्रान्सफर गर्न पनि सकिनेछ,’ उनले भनिन् । यो जीएसएम प्रिपेड तथा सीडीएमएको प्रिपेड र पाष्टपेड दुवैमा लागु हुने बैद्यले जानकारी दिइन् । जीएसएमको पोष्टपेडमा भने हाललाई यस्तो सेवा लागु नगरिएको बताइएको छ ।
टेलिकमले बजारमा ५०, १ सय, २ सय, ५ सय र १ हजार रुपैयाँका रिचार्जकार्ड उपलब्ध हुने छ । बजारमा ५० को रिचार्ज कार्डको माग बढी भएको र विद्यार्थीहरुको मागलाई समेत ध्यानमा राखी युनिभर्सल रिचार्जमा ५० लाई पनि समाबेस गरिएको उनले जानकारी दिइन् ।
बैद्यका अनुसार हाल उपलब्ध रिचार्ज कार्डलाई विस्तारै विस्थापित गरिने छ । पहिलै कार्ड विक्री गरिने भनिएपनी नयाँ विलिङ सिस्टम अपग्रेड नगरिएकोले सो युनिर्भसल कार्ड नल्याइएको उनले जानकारी दिइन । सो एनटी कार्डको विक्री सुरु गरेसँगै केही समयभित्रै विल पेमेन्टलगायत सेवा पनि उपलब्ध गराउने बताइएको छ ।
नेपाल टेलिकमले हालै नयाँ विलिङ सिस्टम अपग्रेडि गरेको थियो । टेलिकमले पुरानो बिलिङ सिस्टमबाट नयाँ बिलिङ प्लेटफर्ममा ट्रान्सफर गरेको हो । सो ट्रान्सफरमा टेलिकमले अहिले १ करोड रुपैयाँ बराबरको खर्च गरेको छ । टेलिकमले पुरानो सिस्टमबाट कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टम (सिआरटिबी) प्रणालीमा गएको हो ।
टेलिकमले सिडिएमए मोवाइलको भने यसअघि नै बिलिङ प्रणालीमा परिवर्तन गरिसकेको छ । टेलिकमको जिएसएम प्रोजेक्ट हुवावेले गरेको थियो भने सिआरटिबीको काम एसिया इन्फोले गरिरहेको छ ।
हाल टेलिकमको नेपालभर १ करोड २० लाख भन्दा धेरै मोवाइल सेवाका ग्राहक छन् । जसमध्ये १ करोड ग्राहक जीएसएम सेवाका मात्र रहेको बताइएको छ । त्यस्तै, सीडीएमए सेवाको प्रवद्र्धनका लागि कम्पनीले पछिल्लो समय विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको छ । टेलिकमले जीएसएम, सीडीएमए, पिएसटिएनलगायतका फोन तथा डाटा सेवा दिँदै आएको छ ।