Logo

कोसी करिडोर प्रसारण लाइनमा धरान उपमहानगरको अवरोध हट्यो, ५५० मेवा विद्युत तत्काल थपिने

कोसी करिडोर प्रसारण लाइनमा धरान उपमहानगरको अवरोध हट्यो, ५५० मेवा विद्युत तत्काल थपिने



काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध हटेको छ । उपमहानगरपालिकाले गत मंसिरबाट गर्दै आएको अवरोध हटेपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सुचारु भएको हो ।

आयोजनाको प्रस्तावित रुटबाटै प्रसारण लाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । ‘१७ वटा टावर निर्माणमा अवरोध थियो, पटकपटक भएको छलफलबाट वडाध्यक्ष लगायत प्रस्तावित रुटबाटै प्रसारण लाइन लैजान दिन तयार भएपछि निर्माण सुरु गरिएको छ,’ उनले भने, ‘प्रभावलाई न्यूनिकरण गर्न आयोजनाले स्थानीय रुपमा गर्न सक्ने सामुदायिक विकासका कार्यक्रमहरु संचालन गरिने छ ।’

धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा पर्यटकीय स्थलहरुलाई नकारात्मक असर पर्ने भन्दै करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेकी थिइन । त्यसपछि आयोजनाको निर्माण रोकिएको थियो ।

प्राधिकरणले उपमहानगरपालिकाले भनेजस्तो कुनै प्रसारण लाइनले असर नपर्ने जनाएको थियो । प्राधिकरणले उक्त प्रशारणलाईन निर्माण ढिलाइ भएमा प्रसारण हाल निर्माणाधीन जलविद्युत आयोजनाहरु वाट अनुमानित ५ सय ५० मेगावाट विद्युत खेर जाने भन्दै उक्त परिवर्तन अस्विकार गर्र्दै आएको थियो ।

उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रहरुलाई लाईनको चेक सर्भे गर्ने क्रममा संबोधन गरिसकिएको र सम्पूर्ण प्रकृया पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने अडान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राख्दै आएका थिए ।

गत पुसमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरेको थियो । प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरेको छ । अब सोही रुट हुँदै प्रसारण लाइनको निर्माण हुने छ ।

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५ सय १६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था छ ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १ सय ५ किलोमिटर २ सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण जुन २०१९मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।
३ सय २० वटा टावरमध्ये २ सय १० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिए । अब केही दिनमै टार तान्न पनि सुरु हुने उनले बताए । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ ।

दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २ सय २० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२० मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ । तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२०मा सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL