काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाहिरी चक्रपथको नक्सा फेरबदल हुन सक्ने बताएका छन् ।
विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा बोल्दै मन्त्री राईले सो कुरा बताएका हुन । मन्त्री र अन्य सांसदबीच कुरा नमिले पछि थप छलफल गर्न समितिले अर्को बैठक बोलाउने भएको छ ।
बैठकमा बाहिरी चक्रपथ सडक आयोजनाको सम्बन्धमा थप छलफल गर्नु पर्ने भन्दै अर्थ मन्त्रालय, शहरी विकास, लगानीबोर्ड लगायतलाई अर्को बैठकमा बोलाउने भएको हो ।
बिगतमा विभिन्न स्वार्थ समुहको चलखेलमा जग्गाको कित्ताकाट गरिएकाले अहिलेकै अवस्थामा बाहिरि चक्रपथलाई अघि बढाउन कठिन हुने मन्त्रीराईले जानकारी दिएका थिए । उनले उक्त क्षेत्रको जग्गाको मुआब्ज अहिलेकै दरमा वितरण गर्ने हो भने राज्यलाई अर्बौ रुपैयाँको भार पर्ने भन्दै जग्गा रोक्ने बताएका थिए ।
त्यस्तै बैठकले हिमाल पहाड र तराईमा निर्माण हुने स्मार्ट सिटी र नयाँ शहरको एकीकृत मापदण्ड बनाई काम अघि बढाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । हाल अध्ययन भई काम सुरु भएका नयाँ शहर र स्र्माट सिटीको काम प्राथमिकतामा राखेर काम गर्न समेत समितिले निर्देशन दिएको छ ।