Logo

पर्यटन विश्वविद्यालय स्थापना गर्न नाटाको माग, भिजन २०२० सफल पार्न वाईडबडी जहाज थप्नु पर्ने

पर्यटन विश्वविद्यालय स्थापना गर्न नाटाको माग, भिजन २०२० सफल पार्न वाईडबडी जहाज थप्नु पर्ने



काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)ले ‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न माग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बिहीबार भेटेर पर्यटन क्षेत्रको समग्र विकासका लागि ७ प्रदेशमा ‘पर्यटन विश्वविद्यालय’ आवश्यक रहेको बताएको हो ।

नाट्टाले एकमात्र विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन भएकाले यसको विकास र विस्तारका लागि मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएको हो ।

नाट्टाले तिब्बत, मानसरोवर, कैलाश जाने यात्रुको भुक्तानी अमेरिकी डलरमा लिन पाउने व्यवस्था मिलाउनुपर्ने, पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा मान्यता दिनुपर्ने, बन्द, हड्तालमा निर्वाध रूपमा पर्यटक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने, त्रिभुवन विमानस्थलमा हुने एयर ट्राफिक कम गर्ने व्यवस्था गर्न माग गरेको छ ।

यस्तै, वैकल्पिक विमानस्थल चाँडो सञ्चालन गर्नुपर्ने, पर्यटक बसपार्क निर्माण गर्नुपर्ने, पर्यटकलाई अनलाइन भिसाको व्यवस्था मिलाउनुपर्ने, ६ न्यारोबडी र ४ वाइडबडी विमान भित्र्याउनु पर्ने, हवाई सेवा पार्किङलाई सहज बनाउनुपर्ने लगायतका मागसमेत नाट्टाले राखेको छ ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले नेपाल भ्रमण वर्ष सफल बनाउन आफूहरुले राखेका मागलाई पूरा गर्न सरकार लाग्नुपर्ने बताएका छन । उनले भने, ‘हामीहरुले राखेका माग पूरा भए पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी धेरै मात्रामा भित्रिन्छ’ ।

भेटपछि मन्त्रालयका सचिव सापकोटाले नेपाल भ्रमण वर्षमा धेरै विदेशी पर्यटक भित्र्याउनका लागि चाहिने पूर्वाधार र नीतिगत निर्णय पूरा गर्न सरकार लागि पर्ने बताएका छन । उनले भने, ‘निजी क्षेत्रको सहयोगविना नेपालको पर्यटन क्षेत्रको विकास सम्भव छैन’ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL