Logo

लगानी सम्मेलनको पूर्व सन्ध्यामा निजी क्षेत्रको दौडधुप, चेम्बर र विदेशी लगानीकर्ताबीच बीटूबी मिटिङ

लगानी सम्मेलनको पूर्व सन्ध्यामा निजी क्षेत्रको दौडधुप, चेम्बर र विदेशी लगानीकर्ताबीच बीटूबी मिटिङ



काठमाडौं । लगानी सम्मेलनलाई लक्षित गर्दै नेपालका निजी क्षेत्रले आफ्नो सक्रियता बढाएका छन् । सम्मेलनमा भाग लिन विदेशी लगानीकर्ता आउने क्रम बढेसँगै नेपालका निजी क्षेत्रले उनीहरुसँगको छलफल तथा व्यवसायीक वार्ता गर्न सुरु गरेका छन् ।

विशेषगरी विदेशी लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने र नेपालका सम्भावित परियोजनाहरुको बारेमा जानकारी दिने उद्देश्यले नेपालका निजी क्षेत्रले बीटूबी मिटिङ सुरु गरेका हुन् ।

यसैबीचमा नेपाल चेम्बर अफ कमर्सले चिनियाँ लगानीकर्तासँग नेपालमा लगानी भित्र्याउने सम्बन्धमा बीटूबी छलफल गरेको छ । उक्त छलफलमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चिनियाँ लगानीकर्तालाई नेपालको कृषि, पर्यटन र ऊर्जामा लगानी गर्न आग्रह गरेका थिए । ‘नेपाल र चीनबीच धेरै बस्तु आयात निर्यातमा भन्सार छुट छ भने नेपालमा चिनियाँ लगानीकर्तालाई लगानी गर्न सहज पनि छ,’ उनले भने, ‘पछिल्लो समय देशमा सरकारले लगानीको वातावरण बनाएकाले विदेशी लगानी सुरक्षित हुनुका साथै प्रतिफल समेत उच्च छ ।’ साथै उनले नेपालमा उत्पादित हर्वल, ह्याण्डीक्राफ्ट लगायतका बस्तुलाई चीनमा निर्यात गर्नका लागि स्थायी रुपमा प्रर्दशनी केन्द्र उपलब्ध गराईदिन समेत आग्रह गरेका थिए ।

यसैगरी कार्यक्रममा चीनको युयान प्रान्तमा वाणिज्य विभागका निर्देशक युन लिनले आफुहरुले नेपालमा ज्वाइन्टभेन्चरमा कम्पनी स्थापना गर्न इच्छुक भएको बताए । ‘विशेषगरी कृषि उपकरण, जलविद्युत निर्माणका लागि आवश्यक सामग्री र विभिन्न प्रकारका मेशिन निर्माणका लागि नेपालमै प्लाण्ट राख्न तयार छौं,’ निर्देशक लिनले भने, ‘हामीले युयान प्रान्तमा पनि धेरै कृषि तथा जलविद्युतमा ठूलो फड्को मारेका छौं जुन कुरा नेपालमा पनि गर्न तयार छौं ।’

यसैगरी युयान जिन्फु ग्रूपले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न तयार रहेको बताएको छ । हाल बंगलादेश, भियतनाम, म्यानमार, इन्डोनेशियालगायत ६ वटा मुलुकमा कम्पनी नै स्थापना गरेर लगानी गर्दै आएको जानकारी दिँदै उपयुक्त वातावरण भएमा नेपालमा पनि तत्काल कम्पनी स्थापना गरी लगानी गर्ने जानकारी दिएको छ ।

यस्तै चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले चिनियाँ लगानीकर्तालाई नेपालमै प्लाण्ट स्थापना गरी कृषि उपकरण निर्माण गर्न आग्रह गरेका थिए । विशेषगरी ट्याक्टर, कृषिका लागि आवश्यक आधुनिक उपकरण सम्बन्धी प्लाण्ट स्थापना गर्न उनको आग्रह थियो । ‘नेपालमा कृषि तथा हर्वलको ठूलो सम्भावना छ,’ उनले भने, ‘त्यस्ता बस्तु नेपालमा उत्पादन गरी उच्च भ्यालुएड गरी निर्यात गर्न सकिन्छ ।’

कार्यक्रममा चीनको युयान प्रान्तका वाणिज्य विभागका निर्देशन तथा अन्य उच्च अधिकारीहरु, १ दर्जनभन्दा बढी चिनियाँ व्यवसायी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु तथा अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसैबीच चेम्बरले आजै भियतनाम, भारत, म्यानमारलगायतका देशका व्यवसायीसँग पनि बीटूबी मिटिङ गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL