काठमाडौं । लगानी सम्मेलनको पूर्व सन्ध्यामा निजी क्षेत्रले देशमा लगानीको वातावरण बनेको भन्दै अबका दिनमा देशले आर्थिक रुपमा फड्को मार्ने बताएका छन् । केही समयअघिसम्म सरकारको विरोध गर्दै आएका निजी क्षेत्रको नजरमा लगानी सम्मेलनको पूर्व सन्ध्यामा परिवर्तन आएको छ । सरकारको कार्यशैलीको विरोध गर्दै आएका निजीक्षेत्रले अर्थ मन्त्रालयमा भएको छलफलमा सरकारले गर्न लागेको लगानी सम्मेलनले देशमा आर्थिक क्रान्ति ल्याउने बताएका हुन् ।
पछिल्लो समय सरकारले लगानी सम्बन्धी विभिन्न नीतिनियमलाई समयसापेक्ष परिमार्जन गरेको भन्दै लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन ठूलो मद्दत पुग्ने बताएका छन् । अहिले सरकारको ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको भन्दै सरकारले अघि बढाएको कामले देशमा विदेशी लगानी ल्याउन सहयोग पुग्नुका साथै स्वादेशी लगानीकर्ताहरु समेत उत्साहित भएको उनीहरुको तर्क थियो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अहिले हुन लागेको लगानी सम्मेलन देशलाई आर्थिक विकासका अघि बढाउन सुवर्ण अबसर भएको बताईन् । ‘नेपालको इतिहालमै पहिलो पटक बलियो र स्थायी सरकार आएको छ,’ उनले भनिन्, ‘जसले गर्दा देशमा लगानी गर्ने वातावरण बनेको छ ।’ लगानी सम्मेलन उपलब्धीमुलक हुने र त्यसले देशलाई आर्थिक विकासको बाटोमा लैजाने उनको दावी थियो ।
यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ४० भन्दा बढी देशका लगानीकर्ता नेपालमा हुन लागेको सम्मेलनमा सहभागीता जनाउनु आफैमा उत्साहपूर्ण काम भएको बताए । ‘पहिला लगानीकर्ता नेपाल आउनुभन्दा पहिला दूतावसमा गएर कुरा गर्थे त्यसपछि खासै चासो देखाउँदैन्थे,’ उनले भने, ‘अहिले सम्मलेनमै आएर नेपालको बारेमा बुझेर लगानी गर्न तयार भएका छन् यो एकदमै सुखद पक्ष हो ।’ विशेषगरी पछिल्लो समय देशमा लगानीको वातावरण बनेको र धेरैजसो विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक भएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले हालै मात्र ल्याएको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनले देशमा विदेशी लगानीको वातावरण बनाएको बताए । ‘विदेशी लगानीकर्ताको नेपाल सबैभन्दा बढी नाफा हुने देश हो,’ उनले भने, ‘अहिले पनि नेपालमा जति विदेशीले लगानी गरेका छन् उनीहरुले सोचेभन्दा बढी प्रतिफल पाईरहेका छन् ।’ विगतमा नेपाल विदेशी लगानीकर्ताको नजरमा नपरेकोमा अहिले भएको स्थायी सरकार र सोही अनुरुप परिमार्जन भएको नीतिनियमका कारण धेरैजसो विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक भएको उनले जानकारी दिए ।
साथै नेपालमा पछिल्लो समय ठूला ठूला परियोजना बन्न लागेको भन्दै त्यसमा सहज रुपमा वैदेशिक लगानी ल्याउन सकिने उनको दावी थियो । ‘विदेशमा जुन खालका पूर्वाधारका परियोजना बनिरहेका छन् त्यो भन्दा ठूला लागतमा परियोजना नेपालमै बन्दैछन्,’ उनले भने, ‘त्यस्ता क्षेत्रमा विदेशी लगानी ल्याउन सहज हुनेछ ।’