Logo

लगानी सम्मेलनमा ४० देशका ६ सय लगानीकर्ता सहभागी, १२ आयोजनाको सम्झौता हुने

लगानी सम्मेलनमा ४० देशका ६ सय लगानीकर्ता सहभागी, १२ आयोजनाको सम्झौता हुने



काठमाडौं । लगानी सम्मेलनमा १२ वटा आयोजनाको समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ । यसै हप्ता हुन लागेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १२ वटा परियोजनामा समझदारी तथा सम्झौता हुन लागेको अर्थमन्त्री तथा लगानी सम्मेलनका निर्देशक समितिका संयोजक डा. युवराज खतिवडाले जानकारी दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु सोकेशमा रोखेको छ । सोमध्ये तत्काल काम अघि बढाउने उद्देश्य अनुरुप तयारी अवस्थामा रहेको १२ वटा परियोजनाको निर्माणकार्य अघि बढाउन सम्झौता हुने खतिवडाले जानकारी दिए ।

सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सयभन्दा बढी विदेशी लगानीकर्ताहरुले सहभागिता जनाउने छन् । यसैगरी नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैर–आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ ।

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तरराष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहनेछ ।

सम्मेलनमा नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुनेछन् । त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्