Logo

अन्ततः राष्ट्र बैंकको कोर्टमा ब्रोकर मार्जिन कारोबार, कसरी तोकिएला स्प्रेड र ब्याजदर ?

अन्ततः राष्ट्र बैंकको कोर्टमा ब्रोकर मार्जिन कारोबार, कसरी तोकिएला स्प्रेड र ब्याजदर ?



काठमाडौं । ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिने भएको छ । यस अघि मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन र कार्यविधी अन्तरगत रही नेप्सेमा सुचिकृत भएर ब्रोकरले मार्जिन लेण्डिङ गर्न मिल्ने बताईएपनि कारोबारका लागि अन्तिम स्वीकृति भने राष्ट्र बैंकबाट लिनुपर्ने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।


‘नेप्सेले रितपूर्वक निवेदन आएको ब्रोकरलाई कागजाट चेक गरी मार्जिन कारोबार गर्नका लागि समति दिनेछ,’ उनले भने, ‘तर मार्जिन लेण्डिङ बैंकिङको दायरा भित्र रहेकाले स्प्रेड दर तथा उनीहरुले लिने ब्याजदरको विषयमा राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ ।’ ब्रोकरले स्प्रेड दर र ब्याजरको विषयमा राष्ट्र बैंकबाट सहमति लिएर आएपछि मात्र कारोबार गर्न पाउनेछन् ।


नेप्सेले मार्जिन कारोबारका लागि अनुमति माग गरे अनुसार १ दर्जन ब्रोकर कम्पनीले आवेदन दिएका थिए । सोमध्ये सम्पूर्ण कागजात पुरा भएको दुईबाट ब्रोकरलाई अनुमति दिएर कारोबारका लागि राष्ट्र बैंक समक्ष स्वीकृति लिनका लागि पठाइएको साउदले जानकारी दिए । ‘नेप्सेको तर्फबाट दुईवटा ब्रोकर कम्पनीले कारोबारका लागि अनुमति लिएर गईसके,’ उनले भने, ‘मार्जिन कारोबार बैंकिङ क्षेत्र भित्र पर्ने भएकाले बैंकिङ अन्तिम कारोबारका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने हुन्छ ।’


मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधी २०७५ अनुसार मार्जिन कारोबार गर्नका लागि कुनै पनि ब्रोकरको नेटवर्थ ५ करोड रुपैयाँ हुनुपर्दछ । हाल उक्त नेटवर्थ भएको २५ वटा जति ब्रोकर कम्पनी भएको समेत नेप्सेले जानकारी दिएको छ । मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन तथा कार्यबिधी अनुसार ब्रोकरले आफ्नो नेटवर्थको दुई गुणासम्म मार्जिन लेण्डिङ गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्