Logo

नेपालमा मासिक साढे ४६ अर्व रेमिट्यान्स भित्रदै

नेपालमा मासिक साढे ४६ अर्व रेमिट्यान्स भित्रदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ बैंशाख, काठमाडौैं । नेपालमा मासिक ४६ अर्व रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको ८ महिनामा ३ खर्ब ७० अर्व ९९ करोड ५५ लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । सोही तथ्याङ्क अनुसार नेपालमा मासिक ४६ अर्व ३७ करोड ४३ लाख रुपैयाँ रेमिट्यान्स भित्रने गरेको छ ।

चालू आवमा देशमा रेमिट्यान्स भित्रने क्रम बढेपनि गत वर्षको तुलनामा बृद्धिदर भने बढ्न सकेको छैन । गत आथिर्क वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्सको बृद्धिदर ३४ प्रतिशत थियो । तर, चालू आवको सोही अवधिमा आइपुग्दा सो बृद्धिदर ४ प्रतिशत मात्र रहेको छ । गत आवको सोही अवधिमा देशमा ३ खर्व ५६ अर्व ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

पछिल्लो समय हुण्डीवालाको चलखेल बढेसँगै नेपाल भित्रने रेमिट्यान्सको बृद्धिदर घटेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन् । ‘अझै पनि नेपाल भित्र्ने धेरैजसो रेमिट्यान्स हुण्डी लगायत गैर बैकिङ प्रणालीबाट आइरहेको छ,’ उनले भने, ‘गैर बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्रिएकै कारण त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकेको छैन ।’

आगामी दिनमा देशको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान बनाउनका लागि हुण्डी लगायत गैर बैंकिङ प्रणालीबाट भित्र्ने रेमिट्यान्सलाई रोक्ने समेत उनले जानकारी दिए । हाल हुण्डीवालाहरु राष्ट्र बैंकको निसानामा रहेको जानकारी दिँदै आगामी दिनमा उनीहरुलाई कडा कारवाही गरिने समेत उनले जानकारी दिए ।

नेपालमा विशेषगरी वैदेशिक रोजगारीमा जाने कामदारबाट रेमिट्यान्स भित्रदै आएको छ । पछिल्लो समय सवैभन्दा बढी रेमिट्यान्स मलेशियाबाट भित्रने गरेको नेपाल राष्ट्र बैंकले बताएको छ । नेपालमा भित्रने कुल रेमिट्यान्समा मलेशियाको हिस्सा झण्डै २५ प्रतिशत रहेको छ । नेपाल वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू अवाको ८ महिनामा १ लाख ५२ हजारभन्दा बढी कामदार मलेशियाको रोजगारीमा पुगेका छन् ।

यस्तै, नेपालमा बढी रेमट्यिान्स भित्र्याउने दोस्रो र तेस्रो नम्बरमा साउदी अरव र कतार रहेका छन् । त्यसैगरी, संयुक्त अरव इमिरेट्स चौथौं स्थानमा रहेको छ । चालू आवको ८ महिनामा कतारमा ८५ हजार कामदार पुगेका छन् भने साउदी अवरमा ६७ हजार कामदार रोजगारीका लागि पुगेका छन् । सो अवधिमा संयुक्त अरव इमिरेट्समा भने ३७ हजार कामदार रोजगारीका लागि गएका छन् ।

प्रतिक्रिया दिनुहोस्