Logo

५ बर्षमा पनि सुध्रिएन तयारी पोशाकको निर्यात, ड्युटी फ्रि पाएको अमेरिकामा ओरालो लाग्दै

५ बर्षमा पनि सुध्रिएन तयारी पोशाकको निर्यात, ड्युटी फ्रि पाएको अमेरिकामा ओरालो लाग्दै



काठमाडौं । पछिल्लो ५ बर्षमा नेपालबाट निर्यात हुने तयारी पोशाकको अवस्था स्थिर रहेको देखिएको छ । आर्थिक बर्ष २०७०–७१ को तुलनामा गत बर्षसम्म आईपुग्दा केहि मात्रामा बढेपनि औसतमा सुधार नभएको देखिएको हो ।

आब २०७०–७१ मा नेपालबाट ५ अर्ब ६० करोड रुपैयाँ बराबरको तयारी पोशाक निर्यात भएकोमा त्यसको ५ बर्षपछि अर्थात गत आबमा केहि मात्रामा सुधार भएपनि जम्मा ५ अर्ब ९७ करोड बराबरको मात्रै तयारी पोशाक निर्यात भएको छ । ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आब २०७२–७३ मा भने ५ अर्ब ८८ करोड बराबरको तयारी पोशाक निर्यात भएको थियो । नेपालले उत्पादनमा नयाँपन नदिनाले निर्यातको अवस्था कमजोर भएको केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले जानकारी दिए ।

केन्द्रका अनुसार सन २०७०–७१ मा ५ अर्ब ६० करोड मूल्य बराबरका १ करोड ४० लाख पीस तयारी पोशाक निर्यात भएकोमा गत आबमा उक्त निर्यात बढेर ५ अर्ब ९७ करोड मूल्य बराबरका १ करोड ५० लाख पीस तयारी पोशाक विदेश निर्यात भएका हुन ।

नेपालबाट निर्यात हुनेमध्य तेस्रो स्थानमा पर्ने तयारी पोशाकलाई सरकारले उचित नीती नियम तथा कानुनी ब्यबस्था गरेमा धेरै निर्यात हुनेमध्येको दोस्रो स्थानसम्म ल्याउन सकिने केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले जानकारी दिए । उनले विभिन्न उद्योगीलाई आफ्ना उत्पादनमा नयाँपन ल्याउन सकेमा सकेसम्म धेरै निर्यात गर्न सकिने बताएका हुन ।

केन्द्रका अनुसार पछिल्लो ५ बर्षमा तयारी पोशाक उद्योगमार्फ अमेरिकामा मात्रै जम्मा उत्पादनको २० दसमलव १ प्रतिशत तयारी पोशाक निर्यात भएको छ । अमेरिकामा विभिन्न ७७ बस्तुमा ड्युटी फ्रि सुविधा पाएको नेपालले तयारी पोशाकको निर्यात बढाउन सकेको छैन । नेपालबाट पछिल्लो ५ बर्षमा अमेरिकामा हुने तयारी पोशाकको निर्यातमा ५ प्रतिशतले गिरावट आएको छ ।

तयारी पोशाक संघका अध्यक्ष चण्डी प्रसाद अर्यालका अनुसार आब २०७०–७१ मा कुल उत्पादनको २५ दशमलव ८ प्रतिशत तयारी पोशाक अमेरिका निर्यात हुनेमा गत आबमा जम्मा २० प्रतिशत तयारी पोशाक मात्रै अमेरिका निर्यात भएका छन । हालसम्म विदेश निर्यात हुने पहिलो स्थानमा धागो, दोस्रो स्थानमा कार्पेट तथा तस्रो स्थानमा तयारी पोशाक रहेका छन ।

हालसम्म तेस्रो स्थानमा रहेको तयारी पोशाकको उत्पादनमा फरकपन ल्याउन सकियो भने तयारी पोशाक दोस्रो स्थानसम्म आउन सक्ने संघका अध्यक्ष चण्डी प्रसाद अर्यालले जानकारी दिए । अमेरिकामा तयारी पोशाकको निर्यात पछिल्लो समय घट्दै गएकाले यसलाई समयमै सम्बन्धित निकायले ध्यान दिन जरुरी भएको संघका अध्यक्ष अर्यालको भनाई छ ।

गत आवमा नेपालबाट अमेरिकामा तयारी पोशाकमात्रै १ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यसरी हेर्दा नेपालको तयारी पोशाकको दोस्रो ठुलो आयातकर्ता अमेरिका हो भने पहिलो आयातकर्ता बेलायत हो । गत आबमा बेलायतले १ अर्ब ४९ करोड बराबरको नेपाली तयारी पोशाक आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्