पछिल्लो समय हामीले फ्रेन्चाइज मोडललाई प्राथमिकता दिएका अघि बढेको छौं । तसर्थ आगामी ३ वर्षभित्र देशमा प्रमुख शहरहरुमा बाजेको सेकुवा पुग्नेछ ।
हामीले खाडी मुलुक, एसिया प्यासिफिकका मुलुक, अष्ट्रेलिया, मकाउजस्ता देशमा शाखा खोल्ने योजना बनाएका छौं । कतिपय देशमा सम्झौता भएर सम्भाव्यता अध्ययन गर्ने काम समेत भइरहेको छ । बाजेको सेकुवाको भावी योजना, खानाको गुणस्तर, व्यवसायमा सफता हात पार्नुका कारणजस्ता विषयमा केन्द्रित रहेर जिबखबरका रामराजा श्रेष्ठले बाजेको सेकुवाका प्रमुख कार्यकारी अधिकृत सुशिल खड्कासँग गरेको कुराकानीको सार ः
बाजेको सेकुवा जुन रुपमा अघि बढेको छ । यसरी सफलतापूर्वक अघि बढ्नुको कारण के हो ?
मुख्यत सेकुवाको स्वाद नै हो । आजभन्दा ३७ वर्ष अघि जुन स्वादमा सेकुवा पाइन्थ्यो अहिले पनि सोही स्वादमा उपलब्ध छ । यस्तै, पछिल्लो समय नेपालीको खर्च गर्न सक्ने क्षमता बढ्नुका साथै रेष्टुराँमा गएर खाने चलन पनि बढेको छ । हामीसँग आजभन्दा ३७ वर्ष अघिका ग्राहकहरु पनि हुनुहुन्छ । उहाँहरुकै कारण यसलाई थप ब्राण्डिङ तथा सफलता पूर्वक अघि बढाउन सजिलो भएको छ ।
नेपालमा अन्य सेकुवा पसल पनि छन् । तर, ग्राहकले सेकुवा भन्ने वित्तिकै बाजेको सेकुवा सम्झन्छन् । बाजेको सेकुवा र अन्य सेकुवामा के फरक छ ?
बजारमा हाम्रो भन्दा मिठो र सस्तोमा सेकुवा बेच्ने पशल पनि होलान । तर, हामीकहाँ सेकुवाको स्वाद मात्र नभई त्यहि अनुसारको पारिवारिक वातावरण पनि छ । हामी गुणस्तरमा कम्प्रोमाइज गर्दैनौं । आजसम्म बाजेको सेकुवामा कुनै कम्प्लेन आएको छैन । हाम्रो खानामा शुद्धता छ । यस्तै, एकपटक बाजेको सेकुवामा आएर सेकुवा खाएका ग्राहकहरु पुनः खोज्दै आउने गरेका छन् । हामी कहाँ अन्यको तुलनामा खानाको गुणस्तर, वातावरण र सेवा राम्रो छ ।
बाजेको सेकुवाको अवधारणा चाहिँ कसरी आएको थियो ?
यो ग्राहकले दिएको ब्राण्ड हो । आजभन्दा ३७ वर्ष अधि सेकुवा पशल संचालनमा ल्याउने दिनानाथ भण्डारीलाई ग्राहकले बाजे भनेर सम्बोधन गर्थे । ग्राहकले उहाँको पसललालई ‘बाजेको सेकुवा’ पशल भनेर सम्बोधन गरेकै आधारमा यो नाम रहन गएको हो । पछिल्लो समय ग्राहकको माया र विश्वासका कारण चर्चित ब्राण्ड हुन सफल भयो ।
यसको शुरुवात चाहिँ कसरी शुरु भयो ?
त्यतिवेला दिनानाथ भण्डारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्लेन हेर्नजाँदा त्यस क्षेत्रमा खाजा खाने ठाउँ नपाउँदा आफैले सेकुवा पशल राख्ने विचार गरे । उहाँले चउरमा २ किलो मासुबाट सेकुवा पशलको सुरुवात गर्नुभएको थियो । पहिलो दिन त्यहि २ किलो मासु पनि विकेनछ । तर, पछिल्लो समय उहाँले बनाएको सेकुवाको मिठो स्वादका कारण ब्राण्डिङ हुँदै यो अवस्थासम्म आइपुगेको छ ।
पछिल्लो समय आउटलेट विस्तारलाई प्राथमिकता दिनु भएको छ नि ?
हाल बाजेको सेकुवाको माग बढ्दै गएको छ । देशका विभिन्न व्यापारिक केन्द्रमा हामीलाई आउन आग्रह गरिरहेका छन् । यस्तै, व्यवसायीले जहिले पनि अवसर खोज्छ । हामीले यहि १६ गते चितवको भरतपुरमा शाखा खोल्दै छौं । अहिले भरतपुरमा गुणस्तरीय तथा मिठो खानाका लागि राम्रो रेष्टुराँ छैन । ग्राहकको माग र अवसर खोज्ने क्रममा शाखा विस्तार गरिरहेका हौं । पछिल्लो समय काठमाडौमा आएर एक पटक सेकुवा खाएका ग्राहकले स्थानीय स्तरमा आउन आग्रह गरिहेका छन् ।
तपाइहरुले आफैले शाखा खोल्नुभन्दा पनि फ्रेन्चाईजी मोडललाई बढी प्राथमिकता दिइहरनु भएको छ नि ?
अन्तरराष्ट्रिय प्राक्टिस अनुसार पनि होटल तथा रेष्टुराँहरु एउटा लेवलमा पुगेपछि फ्रेन्चाइजीमा नै जाने हो । व्यवसाय विस्तार हुँदै जाँदै सवै काम आफैले मात्र गर्न सकिँदैन । यस्तै, आफैले मात्र शाखा संचालन गर्नुभन्दा फ्रेन्चाइजीमा जाँदा सफल रुपमा व्यवसाय संचालन गर्न सकिन्छ । हामीले केन्द्र तहमा वसेर क्वालीटीमा बढी ध्यान दिँदै आएका छौं । आफैले शाखा संचालन गर्दा स्थानीय स्तरमा व्यवस्थापन सम्हाल्न गाह्रो हुन्छ । तर, स्थानीय व्यक्तिले नै लगानी गरेर शाखा खोल्दा व्यवसायलाई अझ सफल रुपमा अघि बढाउन सकिन्छ भने व्यवस्थापन खर्च समेत कम हुनेछ ।
फ्रेन्चाइजीमा आउटलेट विस्तार गर्दा खानाको गुणस्तरलाई चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ ?
फ्रन्चाइजीको अवधारण भनेको आउटलेटमा विक्री हुने मुख्य–मुख्य खानेकुरा केन्द्रबाटै वितरण हुनुपर्छ । बाजेको सकुवाको मुख्य आइटम सेकुवा, सस, मसलाआदि जस्ता बस्तुहरु एकैठाउँबाट वितरण गरिरहेका छौं । हामीले ब्लू प्रिण्ट बनाएका छौं । सोही अनुसार सेवा तथा खानामा गुणस्तरियता दिएनन् भने त्यस्ता फ्रेन्चाइजीलाई बन्द गर्ने अधिकार पनि हामीसँग हुन्छ । तसर्थ गुणस्तरमा कुनै कप्रोमाइज हूँदैन ।
फ्रेन्चाइजीमा आउटलेट दिँदा रोयल्टी कुन आधारमा लिनुहुन्छ ?
रोयल्टी विक्रीको आधारमा लिइन्छ । हाल हामीले कुल विक्रीको ९ प्रतिशत रकम रोयल्टी वापत लिँदै आएका छौं । शुरुका वर्ष त्यसमा पनि केही छुट दिँदै आएका छौं ।
फ्रेन्चाईजीमा शाखा खोल्नका लागि कति लगानी चाहिन्छ ?
हामीले मध्यम खालको र ठूलो खालको शाखा विस्तार गरिरहेका छौं । मध्यम खालका शाखा खोल्न २५ लाख रुपैयाँदेखि ४० लाख रुपैयाँ लाग्छ । ठूलो खालको शाखामा बैंकेट पनि हुन्छ त्यस्ता शाखा खोल्नका लागि भने ६० लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म लाग्छ । हाम्रो लक्ष्य भनेको मध्यम खालका शाखा विस्तार गर्ने हो । जसले गर्दा बाजेको सेकुवालाई चाडै नै देशभर पुर्याउन सकिनन्छ ।
बाजेको सेकुवाले कतिजनालाई रोजगारी दिइरहेको छ ?
हाम्रो आफ्नै र फ्रेन्चाईजी गरी ९ वटा आउटलेट छन् । जसमा ६ वटा आफ्नै आउटलेट संचालनमा छन् भने ३ वटा फ्रेन्चाईजीमा संचालित छन् । सवै शाखामा गरी १ सय ५० जनाले रोजगारी पाइरहेका छन् ।
पछिल्लो समय ‘मापासे’ले व्यवसायमा कस्तो असर पारेको छ ?
पक्कै पनि असर पारेको छ । शुरुका केही समयत त नेगेटिम ग्रोथ भयो । पछिल्लो समय मापासेका कारण ड्रिक्सको विक्री घटेको पनि खानाको विक्री भने बढेको छ । हाल मापासे गर्ने ग्राहकहरु ड्राइभर लिएर आउछन् भने कतिपय ट्याक्सीमा आउछन् । ग्राहकको मापासे गर्ने तरिकामा पनि परिवर्तन आएको छ ।
आगामी दिनमा बाजेको सेकुवालाई कसरी विस्तार गर्ने योजना बनाउनु भएको छ ?
हाम्रो योजना तथा लक्ष्य भनेको फ्रेन्चाईजी मोडलमै जाने हो । आगामी वर्ष कम्तीमा पनि ८ वटा फ्रेन्चाईजी आउलेट खोल्ने योजना रहेको छ । यस्तै, हाल भइरहेका आफ्नै आउटलेटलाई पनि फ्रेन्चाईजी मोडलमा लैजान तयार छौं । यस्तै, २०१८ सम्म नेपालका प्रमुख शहरहरुमा बाजेको सेकुवा पुर्याउने लक्ष्य लिएका छौं । हामीले पोखरामा खोलका छौं भने चितवनको भरतपुरमा यहि बैशाख १६ गते खोल्दैछौं । हामीले सेकुवाको लागि केन्द्रबाटै मासु पठाउने भएकाले एयरपोर्ट भएका स्थानमा बाजेको सेकुवा तत्काल खुल्नेछ ।
विदेशमा पनि शाखा विस्तार गर्दै हुनुहुन्छ ?
हामीले खाडी मुलुक, एसिया प्यासिफिक, मलेशिया जस्ता मुलुकमा बाजेको सेकुवा पर्याउने लक्ष्य लिएका छौं । यस्तै, अष्ट्रेलिया, मकाउ तथा भारतमा पनि खोल्ने छौं । त्यसका लागि केही मुलुकमा शाखा खोल्नका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ । हाल ति स्थानमा सम्भाव्यता अध्ययन भइरहेको छ । तसर्थ दशै अघि नै विदेशमा पनि बाजेको सेकुवा खुल्ने छ । विदेशमा मास्टर फ्रेन्चाइज र संयुक्त लगानीमा शाखा खोल्ने योजना रहेको छ ।
अन्तमा बाजेको सेकुवाको तर्फबाट ग्राहकलाई के भन्न चाहनुहून्छ ?
पलिहो कुरा त ग्राहकलाई खानाको गुणस्तरमा कमिटमेन्ट गर्न चाहन्छु । हाम्रो सेवा तथा गुणस्तरमा कुनै कमि हुनेछैन । यस्तै, कतिपयलाई बाजेको सेकुवा महङगो छ भन्ने लागेको होला । तर, हामी कहाँ अन्यको तुलनामा महङ्गो छैन । हामीले मध्यम स्तरका ग्राहकलाई लक्षित गरेर नै मुल्य तय गरेका छौं । बाजेको सेकुवा नेपाली ब्राण्ड हो । यसलाई माया गरिदिन आग्रह गर्दछु ।