Logo

चिया बिक्री गर्न प्राङ्गारिक प्रमाण, एउटै उद्योगका १९३ किसानले लिए प्रमाणपत्र

चिया बिक्री गर्न प्राङ्गारिक प्रमाण, एउटै उद्योगका १९३ किसानले लिए प्रमाणपत्र



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा प्राङ्गारिक चियाको माग बढेपछि यहाँका उद्योग र चिया बगान पछिल्लो समय प्राङ्गारिक प्रमाणपत्र लिन लागिपरेका छन् । प्राङ्गारिक चिया उत्पादन नगरे चिया बिक्न समस्या भएकाले चिया बगान र चिया उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिने प्रक्रियामा लागेका हुन् ।

यस वर्ष मात्र इलामको फाकफोकथुमस्थित तीनजुरे उद्योगका १९३ किसानले आफ्नो चिया उद्योग प्राङ्गारिक प्रमाणीकरण गरेका छन् । रासायनिक विषादी प्रयोग गर्न छाडे पनि प्रमाणपत्र नलिएका ती किसानले चिया बिक्री बढाउन सो प्रक्रियामा लागेका हुन् ।

उद्योगका सञ्चालक सोम शर्माका अनुसार तीनजुरेका २ सय ४५ किसानमध्ये १ सय ९३ जनाले चियाको प्रमाणीकरण गरेसँगै अन्य किसानले पनि प्रक्रिया सुरु गरेको बताए । ‘प्रमाणीकरण गर्दा चियाको गुणस्तरसमेत बढ्ने भएकाले यहाँका धेरै किसानले यो प्रक्रिया सुरु गरेका हुन’, शर्माले भने ।

अन्तरराष्ट्रिय बजारमा चिया बिक्री गर्नकै लागि जिल्लाका १२ सहकारी उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिइसकेका छन् । जिल्लामा तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी सहकारी संस्था, ग्रीनहिल चिया सहकारी संस्था, हिमालय साङ्ग्रिला, पाथीभरा चिया उद्योग, अर्थोडक्स चिया उद्योग, दाजुभाइ चिया उद्योग, मिस्टम्याली उद्योग, गोरखा टी स्टेट, इलामेली चिया सहकारी संस्था र इको चिया सहकारी संस्थाले मात्र सो प्रमाणपत्र प्राप्त गरेका हुन् ।

जिल्लाका ८५ उद्योगमध्ये अन्य उद्योग पनि प्राङ्गारिकको प्रक्रियामा रहेको छ । केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालका अनुसार प्राङ्गारिक प्रमाणपत्र लिनका लागि ३ वर्ष लाग्ने र ९ लाख रुपैयाँसम्म बुझाउनुपर्ने छ / रासस

प्रतिक्रिया दिनुहोस्