Logo

ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो, ३ हप्ता सम्म खर्च गर्न सकिने

ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो, ३ हप्ता सम्म खर्च गर्न सकिने



काठमाडौं । अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गरेसँगै बजेटसम्बन्धी गतिरोध हालको लागि अन्त्य भएको हो ।

अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म सरकारी खर्चका लागि समस्या उत्पन्न भएको थियो । त्यसको अन्त्य गर्न राष्ट्रपति ट्रम्प सहमत भएपछि आगामी ३ हप्ताका लागि बाटो खुलेको हो । ट्रम्पले यससम्बन्धी विधेयकमा शुक्रबार अबेरतिर हस्ताक्षर गरेका हुन । उनले सरकारी खर्चका लागि आगामी फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गरेका हुन ।

मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने बजेटको व्यवस्था गर्नुपर्ने भन्दै उनले अमेरिकी सिनेटसँग आफ्नो माग राख्दै आएका छन । तर शुक्रबार पारित गरिएको सो विधेयकमा भने उक्त मागको बारेमा केही उल्लेख गरिएको छैन । यसअघि राष्ट्रपति ट्रम्पले संसदले सीमा पर्खालका लागि करिब पौने ६ अर्ब अमेरिकी डलर बजेट दिनुपर्ने अडान राखेको थियो ।

संसदले सो बजेटको व्यवस्था नगरेसम्मका लागि सरकारी खर्चसम्बन्धी प्रस्तावलाई रोक्दै आएको छ । खर्चलाई सहजै अनुमति नदिने भन्दै ट्रम्पले चेतावनी समेत दिएका छन । शुक्रबार अमेरिकी विपक्षी दलका नेताहरूसँगको छलफलपछि सिनेटमा एकमतले सरकारी निकायहरूलाई आगामी ३ साताका लागि मात्र खर्चको कोष दिने सहमति भएको थियो र त्यसैबमोजिम कानुन पारित भएको हो । तर राष्ट्रपति ट्रम्पले अघि सारेको सो सीमा सुरक्षाबारेको कुराकानी भने जारी नै रहने छ ।

अमेरिकाको सत्तारुड र विपक्षी दलकाबीचमा भएको पछिल्लो सहमति अनुसार अमेरिकी संघीय सरकारलाई आगामी ३ हप्तासम्म सरकारी कोष उपलब्ध हुनेछ र त्यसबाट खर्चको अनुमति हुनेछ । अमेरिकामा छिर्दै आएका भनिएका अवैध आप्रवासीलाई रोक्न अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउन आवश्यक भएको राष्ट्रपति ट्रम्पको अडान रही आएको छ । विपक्षी दलले भने सो प्रस्ताव सम्भव नरहेको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकामा गएको ३५ दिन देखि सरकारी खर्च ठप्प हुन पुगेको थियो । यस अवधिमा संघीय निकायका करिब ८ लाख कर्मचारीहरूले विना तलब काम गरिरहेका थिए । राष्ट्रपति ट्रम्पको यो पर्खालसम्बन्धी मागलाई तल्लो सदनमा निर्णायक हैसियतमा रही आएको विपक्षी डेमोक्र्याट पार्टीले अस्वीकार गर्दै आएको छ । सोही कारणले यसको बदलास्वरुप राष्ट्रपति ट्रम्पले पनि खर्च गर्ने अनुमति राकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL