काठमाडौं । गए राती देखी परेको वर्षाका कारण नेपालगञ्जबाट हुने उडानहरु प्रभावित भएको छ । मंगलबार खराब मौसमले गर्दा समयमै उडान हुन सकेको थिएन ।
बुधबार पनि रातीदेखीनै पानी परेकाले काठमाडौ नेपालगञ्ज बाहेक दुर्गम जिल्लामा उडान हुन नसकेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिएका छन ।
उनका अनुसार अहिले नेपालगञ्ज देखी काठमाडौंमा मात्रै उडान भईरहेको छ । नेपालगञ्जबाट हुने अन्य दुर्गम जिल्लाहरुमा हुने उडान भने हुन सकिरहेको छैन ।
नेपालगञ्जबाट दुर्गमका डोल्पा, बाजुरा, सिमिकोट, रारा, जुम्ला, सांफेबगर तथा रुकुमको सल्लेमा उडान हुन सकिरहेको छैन ।
त्यस्तै काठमाडौंबाट हुने उडानमा लुक्ला र फाप्लु पनि हुन नसकेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव बाबु तिवारीले जानकारी दिएका छन । लुक्ला र फाप्लुमा हिउँ परेका कारण उडान हुन सकेको छैन ।