काठमाडौं । बुधबार बसेको लेखा समितिको बैठकमा उपसमितिले वाईडबडी खरिद प्रकरण प्रतिबेदन पेश गरेको छ । प्रतिवेदनमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटला भएको भन्दै तत्काल कारवाही गर्न माग गरिएको छ ।
उक्त प्रतिवेदनमा वाईडबडी खरिद प्रकरणमा भ्रष्टचार भएको भन्दै पर्यटन मन्त्री रविन्द्र अधिकारी पूर्व पर्यटन मन्त्री जितेन्द्र नारायण देब तथा जीवन बहादुर शाहीलाई दोषी ठहर गर्दै कारवाहीको माग गरेको छ ।
उप समितिले सार्वजनिक खरिद ऐन २०६३ को विपरित अनियमित तरिकाले विमान खरिद कारवाही बढीरहेको अवस्थामा समेत सतर्कता नपनाई बैना रकम सटहिमा सुविधा प्रदान गरेको भन्दै जीवन बहादुर शाहीलाई नैतिक जिम्मेवारी लिनु पर्ने भन्दै कारवाहीको माग गरेका हुन ।
त्यस्तै पूर्व पर्यटन मन्त्री जितेन्द्र नारायण देबलाई भने हाईल्फाई एक्स आईएरल्याण्ड कम्पनीसँग कानुन विपरित सम्झौता गरेको र सोही कम्पनीलाई पहिलो किस्ताको रकम भुक्तानी दिएको आरोप उपसमितिको रहेको छ ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई भने महालेखा परीक्षक टंकमणि शर्मासँगको परामर्श पछि रकम भुक्तानी गरेको, समितिमा झुट्टो बयान दिएको भन्दै वाईडबडी खरिदमा चलखेल गरेको आरोप लगाएका छन ।
त्यस्तै उपसमितिले पूर्व पर्यटन सचिव प्रेमकुमार राई, शंकर अधिकारी तथा बहालवाला सचिब कृष्ण प्रसाद देवकोटालाई समेत तत्काल निलम्बन गरी हदै सम्मको कारवाही गर्न समिति समक्ष माग गरेका छन । उपसमितिले विमान खरिदमा मूख्य भूमिका खेल्ने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई समेत निलम्बन गर्न माग गरिएको छ ।
उपसमितिको प्रतिवेदन सार्वजनिक भए पछि जिवनबहादुर शाही, जितेन्द्र नारायण देबसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । त्यस्तै मन्त्री अधिकारी भने मन्त्रालयको बैठकमा रहेको भन्दै संचारमाध्यमसँग सम्पर्कमा आउन चाहेका छैनन ।