Logo

क्यानोनिङ सञ्चालनका लागि घरबास कार्यक्रम, ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा

क्यानोनिङ सञ्चालनका लागि घरबास कार्यक्रम, ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा



काठमाडौं । तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथर्दीमा घरबास सञ्चालनका लागि स्थानीयवासी जुटेका छन । घरबासमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँका स्थानीय घरबास सञ्चालनका लागि जुटेका हुन । यस ठाउँका १० घरमा फागुनभित्र घरबास सञ्चालन गर्ने लक्ष्य राखिएको स्थानीय शिवकुमार आलेले जानकारी दिएका छन ।

घरबास सञ्चालनका लागि नगरपालिकाले स्थानीयवासीलाई तालीमको आयोजना समेत गरेको छ । आइतबारबाट सुरु भएको घरबास व्यवस्थापन तालीम पुस २९ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौंस्थित एपेक्स म्यानेजमेन्ट कन्सल्टेन्सीको सहकार्यमा सुरु भएको तालीममा स्थानीयवासीलाई खानाको परिकार बनाउने तरिका, बोलीचालीका भाषा, संस्कृति, सरसफाइ र घर व्यवस्थापनको बारेमा जानकारी दिइने प्रशिक्षक घनश्याम गिरीले जानकारी दिएका छन । तालीममा ३० जना स्थानीयको सहभागिता रहेको छ ।

यहाँका १० घरका २० कोठामा घरबास सञ्चालनको तयारी थालिएको छ । नगरपालिका–९ का वडा अध्यक्ष इमान थापाले पाथर्दीमै रहेको इन्द्र झरनामा क्यानोनिङ (छाँगावरोहण) र घरबास एकैसाथ शुभारम्भ गर्न लागिएको बताएका छन । ‘घरबास सञ्चालनका लागि १० घरमा २० वटा कोठा तयार हुुँदैछ,’ वडाध्यक्ष थापाले भने, ‘क्यानोनिङसँगै घरबास सुरु गर्नेछौं’ ।

झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागि समेत तालीमको आयोजना गर्न लागिएको भन्दै उनले भने, ‘झरनामा क्यानोनिङका लागि आउने पर्यटकलाई राख्न यस ठाउँमा सुविधा छैन । त्यसैकारण पनि यहाँ घरबासको आवश्यकता थियो ।’

इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण भएपछि वडाले व्यावसायिकरूपमा क्यानोनिङको समेत सुरु गर्दैछन । क्यानोनिङ सञ्चालनका लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समेत चासो व्यक्त गर्दै आएका छन ।

नगरपालिका–९ ले वडालाई नमूना वडा बनाउन ‘ड्रिम प्रोजेक्ट’ अगाडि सारेको छ । कृषिसँग जोडेर पर्यटनको विकास गर्ने उद्देश्यसहित यस ठाउँमा बाख्राको स्रोत केन्द्र समेत स्थापना गरिएको छ ।

यस ठाउँलाई क्यानोनिङ गन्तव्यको रूपमा विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भएकाले यसको पूर्वाधार निर्माणमा जोड दिइने वडा अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्