काठमाडौं । काठमाडौंको रिङरोडमा मोनोरेल गुडाउनका लागि विस्तृत अध्ययन परियोजना (डिपिआर) का लागि सम्झौता भएको छ । काठमाडौं महानगरपालिका र चीनको रेलवे २५ औं ब्युरोबीच बुधबार साबिकको चक्रपथमा रिङरोड स्थापनाका लागि डिपिआर तयार गर्ने बारे सम्झौता भएको हो ।
कामपाले आयोजना गरेको उक्त डिपिआर तयारको लागि सम्झौता कार्यक्रममा कामपाका मेयर विद्यासुन्दर शाक्य र रेल वे कम्पनीका ओभरसिज म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङ्बिङ ले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
कम्पनीले उक्त डिपिआर प्रतिवेदनमा माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्याङकन, मोनोरेलको डिजाईन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यबस्थापनको अनुमान, योजना संचालनका चरण र लाभ लगायतको विश्लेषण गर्नेछ ।
तर उक्त डिपिआर अध्ययन गर्दा पर्न आउने लागत भने कम्पनीले नै वेहोर्ने भएको छ । कम्पनीले उक्त परियोजनाको यसअघि नै सम्भाव्यता अध्ययनको प्रतिवेदन कामपालाई बुझाईसकेको छ । कम्पनीले ६ महिनामा पुरा गर्ने भन्दै सम्भाव्यता अध्ययनको जिम्मा लिएको भएपनि प्रतिवेदन भने ३ महिनामै कामपालाई बुझाएको थियो ।
डिपिआर निर्माण सम्झौताको कार्यक्रममा बोल्दै मेयर शाक्यले कम्पनीले सम्भाव्यता अध्ययनको उक्त मोनोरेलको लागत करिव ११ अर्ब ७० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको भएपनि विस्तृत अध्ययन पश्चात लागत घट्ने बताए । उनले कम्पनीले जिम्मामा आएको काम फत्ते गर्ने भएकाले डिपिआरको जिम्मा पनि कम्पनीलाई नै दिएको बताए । ‘कम्पनीले डिपिआरको प्रतिवेदन ६ महिनामै बुझाउँछौ भनेको छ, ’ उनले भने, ‘तर समय थप्न नपर्ने गरी काम गरोस भनेर १ बर्षको म्याद दिएका हौं’
कम्पनीले उक्त डिपिआरको प्रतिवेदन कामपालाई १ बर्षभित्र बुझाउने जानकारी दिएको छ ।
यस्तै कार्यक्रममा बोल्दै मेयर शाक्यले उक्त डिपिआर अध्ययन पश्चात उक्त मोनोरेलको कानुनी प्रक्रिया अनुसार करिव १ बर्ष पछि टेन्ड आह्वान गर्ने र उक्त टेन्डर मार्फत काम अघि बढाउने बताए ।