काठमाडौं । कलंकी कोटेश्वर सडकखण्डको निर्माणकार्य अन्तिम अवस्थामा पुगेसँगै कलंकीमा रहेको नेपालकै पहिलो अन्डरपास पुर्ण रुपमा संचालनमा आएको छ ।
चक्रपथ सडक विस्तार आयोजनाका प्रमुख सुजन खनालका अनुसार विगत केहि दिनदेखि उक्त अन्डरपासको काम पुर्ण रुपमा सकिएसँगै अन्डरपास पुर्ण रुपमा संचालनमा आएको हो ।
उनका अनुसार चक्रपथ अन्तरगतको मुख्य सडक चिनियाँ पक्षले तोकेको समयावधिमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने समय लगभग आधा महिनामात्रै बाँकी रहँदा काम भने अन्तिम अवस्थामा पुर्याएको उक्त आयोजनाका ईन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।
उनका अनुुसार हाल उक्त खण्डको प्रायजसो स्थानमा ब्ल्याकटप अर्थात सडक मर्मतको अन्तिम रुप तयार भैसकेको र एज मार्किङ पनि केहि स्थानमा मात्रै बाँकी छ । यसका साथै केहि स्थानमा भने जेब्रा क्रसिङको काम बाँकी रहेकाले उक्त काम काम पनि अबको ५–६ दिनमा सकाउने जानकारी दिए । उनले चिनियाँ पक्षको काम हस्तान्तरण हुने अवस्थामा पुगेपनि नेपाली पक्षको सर्भिस ट्र्याक खुलाउने काम तथा आकाशे पुल बनाउने काम भने अन्यौलमा रहेको बताएका छन ।
‘नगरपालिकाहरुले बजेट उपलब्ध गराए अनुसार ठेक्का प्रक्रिया अगाडी बढाउने छौँ,’ उनले भने, ‘हाल केहि मात्रामा बजेट उपलब्ध भएकाले सर्भिस ट्र्याकको लागि ठेका सम्झौता गर्ने कार्य प्रक्रियामा रहेको छ ।’
यस्तै चक्रपथ विस्तार अन्तरगतकै दोस्रो खण्डको भने पहिलो खण्डको हस्तान्तरणसँगै डिजाईन चिनियाँ पक्षले ल्याउने अनुमान आयोजना प्रमुख खनालले लगाएका छन । उनले पहिलो खण्डको कार्य सकिने वित्तिकै दोस्रो खण्डको पनि काम सुरु गरिसक्नुपर्ने भएकाले चिनियाँ पक्षले उक्त खण्डको डिजाईन डिसेम्बर १५ पछि लगत्तै आउने बताएका हुन ।