Logo

अष्ट्रेलियामा खुल्यो ग्लोवलको ‘रेप अफिस’, दुई देशबीच लगानीको वातावरण बन्ने

अष्ट्रेलियामा खुल्यो ग्लोवलको ‘रेप अफिस’, दुई देशबीच लगानीको वातावरण बन्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१९ चैत, काठमाडौं । अष्ट्रेलियामा ग्लोवल आईएमई बैंकको रिप्रिजेन्टेटिभ (रेप) अफिस स्थापना भएको छ । अर्थमन्त्री डा. रामशरण महतले आज एक कार्यक्रमबीच सो अफिसको उद्घाटन गरेका हुन् ।

अफिस उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले आगामी दिनमा दुईदेश बीच लगानीको वातारण बन्ने विश्वास व्यक्त गरे । यस्तै, अष्ट्रेलियामा हजारौं संख्यामा नेपाली विद्यार्थी तथा कामदार रहेको बताउँदै उनीहरुले कमाएको पैसा बैंकिङ प्रणालीमार्फत देश भित्र्याउन सहयोग पुग्ने उनले बताए ।

ग्लोबल आईएमई बैंकले अष्ट्रेलियामा बसेका नेपालीहरुको आम्दानीलाई औपचारिक च्यानलबाट नेपाल भित्र्याउनु उच्च प्राथमिकताको काम हुनुपर्नेमा जोड दिए । ‘अनौपचारिक च्यानलबाट पैसा पठाउनु राम्रो काम होइन,’ उद्घाटन कार्यक्रममा उनले भने, ‘साथै, यसले रेमिटान्स पठाउने कामका अतिरिक्त दुई मुलुकबीचको व्यापार र लगानीलाई सहजीकरण गर्नुपर्छ ।’

global-ime

 

बैंकको पहिलो काम रेमिटान्स औपचारिक च्यानलबाट पठाउनु भएको बताउँदै बैंकले पूर्णरुपमा शाखाको रुपमा काम गर्ने सफलता प्राप्त गर्ने विश्वास गरे ।

नब्बेको दशकमा उदार वित्तीय नीति अवलम्वन गरिएपछि नेपालमा वित्तीय क्षेत्रले ठूलो फड्को मारेको र नेपाली बैंकहरु अहिले विदेशमा बजार खोज्दै आफ्नो सेवा विस्तारतिर लागेको जानकारी दिदै उनले यस किसिमको प्रतिस्पर्धात्मक बैंकिङ क्षेत्रको विकासबाट आफूलाई धेरै खुसी लागेको अनुभव सुनाए ।

राजनीतिक अस्थिरता, हिंसात्मक द्वन्द्व र संक्रमणकालमा पनि हिंसाको संस्कृति जारी रहेकोले आर्थिक विकासमा केही अवरोध पक्कै हुने गरेको छ । तर, अव हामीले यसलाई चिर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘आर्थिक प्रगति नगरी कहीं कतै इज्जत नपाइने भएकोले पनि हामीले द्रुततर आर्थिक विकास गर्न आवश्यक छ,’ उनले भने, ‘यसका लागि हामीले नकारात्मक सोचको मानसिकतालाई परिवर्तन गर्नुपर्छ ।’

ramsharan-mahat-globalime

नेपालमा अहिले पूर्वाधारको विकासलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको बताए । साथै, पोखरा तथा भैरहवा क्षेत्रीय विमानस्थल, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई जोड्ने द्रुत राजमार्ग जस्ता ठूला आयोजनाहरुका अतिरिक्त ग्रामीण क्षेत्रका पूर्वाधारको विकासलाई समेत जोड दिइएको छ । ‘हामी सरकारमा आउनासाथ आर्थिक गतिविधिहरुको विस्तारको वातावरण बन्ने गरेको छ,’ उनले भने, ‘विगत २ बर्षयता निरन्तर ५ प्रतिशतभन्दा बढी आर्थिक बृद्धि हुनु यसको उदाहरण हो ।’ जुन ढंगले लगानी बढिरहेको छ, यसलाई हेर्दा आगामी दिनमा आर्थिक बृद्धिले अझ गति लिने समेत उनले जानकारी दिए ।

कार्यक्रममा अस्ट्रेलियाको बार्टन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद निक भरभरिसले प्रतिनिधि कार्यालय स्थापना गरेकोमा ग्लोबल आईएमई बैंकलाई बधाई दिदै नेपाल र अस्ट्रेलियाबीचको उत्कृष्ठ सम्वन्ध रहेको बताए । उनले नेपालमा अस्ट्रेलियाका पर्यटक भ्रमण, जलविद्युत तथा पर्यटनको विकासको संभावनाबारे चर्चा गरे ।

बैंकको कार्यालयमा आयोजित कार्यक्रममा अर्का सांसद तथा अर्थ समितिका सभापति साम दस्तयारीले अस्ट्रेलियामा विदेशी बैंक आउदा प्रतिस्पर्धी सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गर्दै बैंकलाई पूर्ण बैंकिङ कारोबार सञ्चालन गर्नका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको दिए ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले ग्लोबल आईएमई बैंकको प्रतिनिधि कार्यालयले यहाँ रहेका नेपालीहरुमाझ प्रभावकारी वित्तीय सेवा दिनेछ भन्ने विश्वास व्यक्त गर्दै भावी दिनको लागि पूर्ण सफलताको दिएका थिए ।

global-ime-aus

 

बैंकका अध्यक्ष चन्द्र ढकालले आफू विगत डेढ दशकदेखि विदेशमा बस्ने नेपालीहरुसँग नजिकबाट सम्वन्ध स्थापित गरी काम गर्दै आएको जानकारी दिदै सिड्नीमा ग्लोबल आईएमई बैंकको प्रतिनिधि कार्यालयको स्थापना नेपालीहरुलाई वित्तीय सेवा दिने अधियानकै अर्को कदम भएको बताए । ‘ नेपालमा रेमिटान्स पठाउँदा प्रति कारोबार २५ डलर लाग्ने गरेकोमा हामीले नेसनल अस्ट्रेलिया बैंकसँगको सहकार्यमो ७ डलरमै कारोबार गरिदिने सुविधा उपलब्ध गराएर यसको शुरुआत गरेका छौं,’ उनले भने ।

सो अवसरमा गैरआवासीय नेपाल संघका अध्यक्ष शेष घलेले ग्लोबल आईएमई बैंकले सिड्नीमा आफ्नो प्रतिनिधि खोलेर सेवा विस्तार गरेकोमा बधाई दिदै यहाँबाट नेपालमा रेमिटान्स कारोबार बढाउन बैंकले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
अस्ट्रेलियामा लामो समयदेखि बसोबास गर्दै आएकी समाजसेवी इन्द्रा वनले सिड्नीमा प्रतिनिधि कार्यालय खोलेकोमा ग्लोबल आईएमई बैंकलाई बधाई दिदै यस बैंकले विशेषगरी नेपालीहरुलाई प्रभावकारी सेवा दिने बताइन् ।

ramsharan-gbl

 

सो बैंकका नायव कार्यकारी प्रमुख जनक शर्मा पौड्यालले देशभित्र मात्र होइन, ग्लोबल आईएमई बैंक अव अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न निस्केको र यो मुलुककै लागि गौरवको विषय भएको बताए ।
सो कार्यक्रममा अस्ट्रेलियन प्रुडेन्सियल रेगुलेसन अथोरिटी आप्राका जेनिफर वाल्डिङ, क्रिस भिक र बैंकका सञ्चालक सुह्रिद घिमिरेले पनि बोलेका थिए । आठ बर्ष अघि स्थापित ग्लोबल बैंकको अर्थमन्त्री डा महतले नै उद्घाटन गरेका थिए भने अहिले विदेशस्थित पहिलो प्रतिनिधि कार्यालयको पनि उनले नै उद्घाटन गर्नुभएको स्मरण गरेका थिए ।

नेपाली बैंकले विदेशमा रिप्रिजेन्टेटिभ अफिस खोलेको यो दोस्रो हो । यस अघि हिमालयन बैंकले मलेशियामा आफ्नो रिप्रिजेन्टेटिभ अफिस स्थापना गरिसकेको छ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्व १० करोड रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म ५५ अर्ब २० करोड निक्षेप संकलन गरेको थियो भने ४७ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको देशभर ८५ वटा ब्राञ्च अफिस रहेको छ भने ८८ बटा एमिटम काउण्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्