काठमाडौं । एयर एशियाले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलाई थप ५ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । हालसम्म एयर एशियाले विमानस्थललाई भुक्तानी गर्न २७ करोड रुपैयाँ प्रिसिन्पल रकम बाँकी रहेकामा सोमध्ये करिब २२ करोड यस अघि नै भुक्तानी गरेको र थप ५ करोड रुपैयाँ पनि शुक्रबार नै भुक्तानी गर्ने एयर एशिया स्रोतले जानकारी दिएको छ ।
मलेशियन वायु सेवा कम्पनी एयर एशियाले सञ्चार तथा उड्डयन सहायक सेवा, विमानस्थल विकास शुल्क, अवतरण तथा पार्किङ शुल्क वापत विमानस्थलाई २७ करोड रुपैयाँ तिर्न बाँकी रहेको थियो । उक्त रकम एयर एशियाले लामो समयदेखि नतिरेपछि २०१८ फेब्रुअरीमा एयर एशियाको प्रमुख कार्यकारी अधिकृत नै नेपाल आएर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशसँग बक्यौता रकम सबै कम्पनीले नै तिर्ने गरी लिखित प्रतिवद्धता जाहेर गरेका थिए । सोही अनुरुप एयर एशियाले हालसम्म करिब २२ करोड रुपैयाँ भुक्तानी गरेको थप ५ करोड रकम शुक्रबारसम्म भुक्तानी गरिसक्ने एयर एशिया स्रोतले जानकारी दिएको छ ।
भित्रुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार एयर एशियाले अब प्रिन्सिपल रकम र विलम्व शुल्क गरी करिब १८ करोड रुपैयाँ तिर्नुपर्ने छ । तर, सो रकममध्ये प्रिन्सिपल रकममा ५ करोड रुपैयाँ मात्र बाँकी रहेको छ । ‘एयर एशियाले हामीलाई कुल २७ करोड रुपैयाँ तिर्न बाँकी थियो जसमध्ये आजको दिनसम्म २२ करोड रुपैयाँ तिरिसक्यो,’ उनले भने, ‘बाँकी रहेको ५ करोड रुपैयाँ भोलीसम्म नतिरे उडान नै रोक्ने छौं ।’ हाल बाँकी रहेको बक्यौता रकममध्ये १३ करोड रुपैयाँ ब्याज र बिलम्ब शुल्क रहेको उनले जानकारी दिए ।
उनका अनुसार एयर एशियाले ब्याज र बिलम्ब शुल्कमा छुट दिन समेत पत्राचार गरेको छ । तर, उक्त रकम मन्त्रिपरिषद्को निर्णय विना प्राधिकरण वा त्रिभुवन विमानस्थलले छुट दिन नसक्ने उनको भनाई थियो । तर, शुक्रबार सम्ममा जसरी पनि बक्यौता रहेको प्रिन्सिपल रकममध्ये बाँकी ५ करोड रुपैयाँ भने बुझाउनु पर्ने उनको तर्क थियो ।
फेब्रुअरीमा कम्पनीको सीईओ नै आएर प्राधिकरणका महानिर्देशकसँग बक्यौता रकम तिर्ने सम्झौता गरेको र कानुन अनुसार पनि उक्त सबै बक्यौता रकम एयर एशियाले नै तिर्नुपर्ने उनको तर्क थियो । ‘हामीले कानुन सम्बत रुपमा पैसा उठाउने हो,’ उनले भने, ‘हामीसँग भएको सम्झौता अनुरुप कानुनी रुपमा यो सबै बक्यौता रकम एयर एशियाले तिर्नुपर्छ नेपाल स्थित जिएसएले होइन ।’ साथै बक्यौता रकम उठाउने सम्बन्धमा नेपाल स्थित जिएसएसँग कुनै सरोकार नुहुने उनको तर्क थियो ।
हाल एयर एशियाको नेपाल स्थित जिएसए इन्सेन्टिभ ग्रूप अफ कम्पनीज (आईजीसी) ले गर्दै आएको छ । उक्त कम्पनीसँग सम्पर्क गर्दा त्रिभुवन विमास्थललाई तिर्नुपर्ने सम्पूर्ण रकम एयर एशियाले नै तिर्नुपर्ने जानकारी दिएको छ । ‘हामीसँग भएको सहमति अनुसार विमानस्थलाई तिर्नुपर्ने सबै शुल्क सम्बन्धित कम्पनीले नै तिर्नुपर्छ,’ आईजीसी स्रोतले भन्यो, ‘केही समय अघि एयर एशियाको सिईओले पनि प्राधिकरणका महानिर्देशकलाई भेटेर सम्पूर्ण बक्यौता रकम जीएसएले नभई आफैले तिर्ने लिखित प्रतिवद्धता गरेका छन् ।’