Logo

दशैको लागि ८० प्रतिशत हवाई टिकट बुकिङ, थप उडान थप्ने तयारीमा एयरलाईन्स कम्पनी

दशैको लागि ८० प्रतिशत हवाई टिकट बुकिङ, थप उडान थप्ने तयारीमा एयरलाईन्स कम्पनी



काठमाडौं । दशैंको लागि ८० प्रतिशतभन्दा बढी हवाई टिकट बुकिङ् भएको छ । एयरलाईन्स कम्पनीहरुले दशैंको लागि अग्रीम टिकट बुकिङ खुल्लागरेसँगै ८० प्रतिशतभन्दा बढी बिक्री भइसकेको सम्बद्ध एयरलाईसन्स कम्पनीहरुले जानकारी दिएका छन् ।

यसपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै यातायात व्यवसायीहरुले केही समय अगाडीसम्म टिकट बुकिङ नगरेकाले पनि एयरलाईन्सहरुको टिकट धेरै बिक्री हुन सक्ने सम्बद्ध एयरलाईन्स कम्पनीहरु बताउँछन् ।

दशैंलाई लक्षित गदै टिकट बुकिङ गर्नेमा सबैभन्दा अघि बुद्ध एयरलाईन्स रहेको छ । बुद्ध एयरले दशैंको लागि शुक्रबारसम्ममा करिब ८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भईसकेको जानकारी दिएको छ ।

सौर्य एयरलाईन्सले असोज ७ गतेबाट टिकट बुकिङ खुल्ला गरेकोमा शुक्रबार सम्ममा ३५ प्रतिशत मात्रै टिकट बुकिङ भएको एयरका चिफ सेल्स एन्ड मार्केटिङ मुकेश खनालले जानकारी दिएका छन ।

त्यस्तै यति एयरले पनि धेरै जसो दशैं केन्द्रित टिकट बुकिङ भईसकेको जानकारी दिएको छ । यतिको शुक्रबारसम्ममा तुम्लीङटारको टिकट भने शतप्रतिशत बिक्री भएको छ भने अन्य स्थानको पनि ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भएको कम्पनीका साजन पौडेलले जानकारी दिएका छन ।

श्री एयरलाईन्सको पनि करिब ५० प्रतिशत भन्दा बढी टिकट बिक्री भईसकेको श्री एयरका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन । ‘स्थान अनुसार कुनै स्थानको बढी र कुनै स्थानको कम टिकट बिक्री भएको छ,’ उनले भने, ‘सरदरमा ५० प्रतिशतभन्दा बढी टिकट बिक्री भएको छ ।’

एयरलाईन्सहरुले दशैंलाई लक्षित गर्दै थप उडान समेत गर्ने भएको छ । ‘फ्लाईट सेड्युअल अनुसारको टिकट सकेपछि यात्रुको चाप बढ्दै गएमा थप उडान गर्नेछौं,’ मानन्धरले भने, ‘तर सोका लागि नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिनुपर्ने हुन्छ ।’

सिम्रीक एयरले भने दशैं लक्षित टिकट बुकिङ नगर्ने जानकारी दिएको छ । तर दशैंको समयमा भईरहेको विमानबाटै थप उडान कम्पनीका मार्केटिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिएका छन । हाल १० वटा उडान गर्दै आएको सिम्रीकले दशैंको समयमा थप ४ वटा उडान भर्ने भएको छ ।

यसैगरी सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानी) ले भने दशैंको एक हप्ता अगाडी देखी मात्रै टिकट बुकिङ खुल्ला गर्ने निगमका सहप्रवक्ता शैलेश कंसाकारले जानकारी दिएका छन । उनले बजारमा आएको हल्ला जस्तो निगमले अहिलेनै टिकट बुकिङ खुल्ला नगरेको समेत प्रष्ट पारेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL