काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीबीच भएको शिष्टाचार भेटमा दुवै मुलुकले अधिकतम लाभ प्राप्त गर्न सक्ने गरी श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ ।
उनीहरुबीच श्रम सम्झौता परिमार्जन गर्न आवश्यक तयारी गर्ने र छिट्टै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको हो ।
भेटमा मन्त्री विष्टले नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने वातावरण सिर्जना गर्न युएईसँग आग्रह गरेका थिए । उनले युएईमा कार्यरत नेपाली कामदारको २४ घण्टे बीमा, श्रम करारनामा बमोजिमको न्यूनतम तलब र अन्य सेवा सुविधाको सुनिश्चित हुनुपर्ने माग राखेका थिए ।
मन्त्री विष्टले निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकामा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका छन् । नेपाली कामदारलाई रोजगारीका लागि युएई जाँदा खुशी र गर्वको अनुभूति हुने गरी श्रमिकको सेवा सुविधाका पक्षमा त्यहाँको सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल र युएईबीचको सम्बन्धलाई मजबुत तुल्याउन निरन्तर समन्वय र द्विपक्षीय छलफल जारी रहनु आवश्यक भएको उनको भनाई थियो ।
भेटमा श्रम स्वीकृति नलिई ‘भिजिट भिसा’ लगायतका माध्यमबाट युएई जाने र काममा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नमा समेत दुवै देशका सरकारको संयुक्त प्रयास गरिने भएको छ ।
भेटमा राजदूत नाक्बीले भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिसँगै युएई मध्यपूर्वको आर्थिक केन्द्रका रुपमा विकसित हुँदै गएकाले नेपाली कामदारका लागि उपुयक्त श्रम गन्तव्य हुनसक्ने बताए । युएई खाडी क्षेत्रका अन्य मुलुकभन्दा पृथक ढङ्गले अगाडि बढिरहेको उल्लेख गर्दै उनले नेपालबाट दक्ष जनशक्तिको मागसमेत बढ्दै गएको र त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिकको अवसर रहेको बताए ।
नेपाल सरकारले व्यक्त गरेका चासोप्रति युएई सरकार सकारात्मक रहेको बताउँदै उनले नेपाल र युएईबीचको श्रम सम्बन्धलाई उदाहरणीय बनाउन दुवै देशका सरकारको प्रयास रहनुपर्ने बताए ।
नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौता र घरेलु कामदारका लागि सम्झौता गर्न प्राविधिक रुपमा छलफल गरी टुङ्ग्याउने सहमति भएको छ ।
नेपालले साउदी अरेबियाका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा लागू गर्न साउदी अरेबिया सरकारबाट पहल गर्ने विषयमा समेत छलफल र सहमति भएको थियो । उहाँहरुबीच नेपाली कामदारलाई रोजगार करारबमोजिम दिइने सेवा सुविधाको सुनिश्चितता गरिने विषयमा पनि छलफल भएकोे छ ।
श्रम स्वीकृति, पुनः स्वीकृति र भिषा नवीकरणको सन्दर्भमा देखापरेका समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ /रासस