Logo

सेयर बजारमा कारोबार रकम र परिसुचक दुबै उचालियो, क्षणिक कि दिर्घकालिन ?

सेयर बजारमा कारोबार रकम र परिसुचक दुबै उचालियो, क्षणिक कि दिर्घकालिन ?



काठमाडौं । साताको सुरु देखि नै उकालो लागेको सेयर बजार बुधबार उच्च रुपमा बढ्न पुगेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा २३ दशमलव ८९ अंकले बढेको छ ।

लामो समय सामान्य घटबढ हुँदै ओरालो लागेको बजार यो हप्ताको सुरु देखि नै दोहोरो अंकको बृद्धि समातेको छ । यो हप्ता बजारमा नेप्से परिसुचकका साथै कारोबार कममा पनि उच्च बृद्धि भएको छ । यस अघि दैनिकजसो १५÷२० करोड रुपैयाँको सेयर खरिदबिक्री हुँदै आएको बजारमा बुधबार ७० करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय लगानीकर्ता संघहरुको नीति निर्माता तथा अन्य सरोकारावालाहरुसँगको नियम भेटघाट र अर्थमन्त्रीको पूँजी बजार सम्बन्धी सकारात्मक अभिव्यक्तीका कारण बजार उचालिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘बजार उच्च रुपमा बढ्न पर्ने गरी कुनै इण्डिकेटरमा सुधार त आएको छैन तर, लगानीकर्ता संघको चहलपहल र भेटघाटका कारण १ हजार २ सय ५० अंकसम्म पुग्न सक्छ,’ ती लगानीकर्ताले भने, ‘बजारमा अहिले देखिएको बृद्धि दिर्घकालिन होइन क्षणिक मात्र हो ।’

यसैहप्ता नेपाल इन्भेष्टर्स फोरमले ब्याजदर घटाउने सम्बन्धमा नेपाल बैंकर्स एशोसियशनका पदाधिकारीसँग पनि भेटघाट गरेको थियो । उक्त भेटमा बैंकहरुले मौजुदा ब्याजदरमा २ प्रतिशत घटाउने संकेत दिएसँगै लगानीकर्ताहरु केही उत्साहित भएका छन् ।

यसैगरी अर्थ मन्त्रालयले केही समय अघि हकप्रद र बोनस सेयरमा लाग्ने पूँजीगत लाभ कर निर्धारणको विषयमा एक कमिटि गठन गरेको थियो । सो कमिटिले पनि पुरानै व्यवस्थालाई निरन्तरता दिन सिफारिस गर्ने संकेत आएकाले लगानीकर्ताहरु उत्साहित भएको एक लगानीकर्ताले जानकारी दिए ।

सोही अनुरुप बुधबार दोहोरो अंकले बढेको बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १ सय ६२ अंकले बढ्दा जीवन बीमा कम्पनीको परिसुचकमा पनि ९५ अंकको बृद्धि भएको थियो ।

यो साताको सुरुवातदेखि नै बैंकिङ् समुहको परिसुचकमा बढी बृद्धि भएको छ । सोही अनुरुप बुधबार पनि सो समुहको परिसुचकमा २२ दशमलव ७४ अंकले बढ्न पुग्यो । यसैगरी विकास बैंक, जलविद्युत तथा माइक्रोफाइनान्स समुहको परिसुचकमा पनि उल्लेख्य बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्