Logo

ओरालो लाग्दै एसियाली पूँजी बजार, लगानीकर्ताहरु हतोत्साहित

ओरालो लाग्दै एसियाली पूँजी बजार, लगानीकर्ताहरु हतोत्साहित



काठमाडौं । एसियाली पूँजी बजार मङ्गलबार ओरालो लागेको छ । अमेरिकामा श्रम दिवसकोे बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको हो ।

जापानको निक्कीमा मङ्गलबार ० दशमलव १ प्रतिशतले कमी आई २२ हजार ६ सय ९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ० दशमलव १ प्रतिशतले घटेर २७ हजार ७ सय १ मा बन्द भयो भने शाङ्घाईको शाङ्घाई कम्पोजिट सूचकमा ० दशमलव १ प्रतिशतले कमी भई ३ हजार ७ सय १८ मा बन्द भयो ।

अस्ट्रेलियाको एसएन्डपी २ सय मा ० दशमलव ४ प्रतिशतले कमी आई ६ हजार २ सय ८५ अंक भएको छ । दक्षिण कोरियाको कोस्पीमा भने ० दशमलव १ प्रतिशत बृद्धि भई २ हजार ३ सय ८ मा बन्द भयो ।

व्यापारिक चासो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार शर्तहरु पालना नगरेको स्थितिमा संशोधित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबाट क्यानडा बाहिरिने चेतावनी दिएका थिए । क्यानडासँगको व्यापार वार्ता बुधबार पुनः शुरु हुने र त्यसमा दुबै देशका चासोका विषयलाई सम्बोधन गर्ने प्रयत्न जारी छ ।

ट्रम्प प्रशासनले क्यानडासँगको व्यापारिक वार्ताको समयसीमा गत शुक्रबार तोकेको थियो । अमेरिका–मेक्सिकोबीचको भएको सहमतिमा क्यानडा सहभागी रहेको छैन ।

चिनीया पिएमआई
एउटा निजी क्षेत्रको सर्वेक्षणमा चीनको कारखाना उत्पादन १४ महिनायताकै सबैभन्दा न्यून रहेको देखाइएको छ । कारखाना उत्पादनको अध्ययन, विश्लेषण गर्ने काइक्सिन म्यानुफ्याक्चरिङ पिएमआईमा अगष्ट महिनामा ५० दशमलव ६ अंक मात्र प्राप्त भएको छ । यो जुलाईको ५० दशमलव ८ को भन्दा केही कम हो । कूल १ सय अंकको यस मापनमा ५० भन्दा कम हुँदा उत्पादन खुम्चिएको आङ्कलन गरिन्छ ।

इन्धन
बेन्चमार्क युएस कच्चातेलको मूल्यमा मङ्गलबार २६ सेन्ट बृद्धि भई ७० दशमलव ०६ डलर प्रति ब्यारेल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL