Logo

किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका शेयर, यस्तो छ तथ्याँक

किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका शेयर, यस्तो छ तथ्याँक



काठमाडौं । सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ ।

सबै नागरिकलाई शेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै शेयर मूल्य ५ सय रुपैयाँभन्दा माथि छ । धेरैजसो कम्पनीको शेयर मूल्य न्यूनतम बिन्दुमा छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै शेयर मूल्य ७ सय ४० रुपैयाँ छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य ४ सय ३६ रुपैयाँ छ । बाँकी रहेका १६ वटा कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

गत फागुनमा थप शेयर निष्काशन गरेपछि बुटवल पावर कम्पनीको शेयरसमेत बजारमा निरन्तर ओरालो लागिरहेको छ । सरकारले सबै नागरिकलाई शेयर उपलब्ध गराउने बताइरहँदा शेयर बजारमा भने जलविद्युत् कम्पनीको उपस्थिति चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ ।

नेशनल हाइड्रो पावर कम्पनीको शेयर त खरीद मूल्यभन्दा पनि तल झरेको छ । सो कम्पनीको प्रतिकित्ता शेयर ८६ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । गत वर्ष ६ सय ५६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएको अपि पावर कम्पनीको शेयर हाल २ सय ७४ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । यस्तै अरुण कोबेलीको २ सय ५५, अरुण भ्यालीको १ सय ४०, बरुण हाइड्रोपावर कम्पनीको शेयर १ सय ४१ रुपैयाँ मूल्यमा खरीद बिक्री भइरहेको छ ।

निरन्तर ओरालो लागेको शेयर बजारमा अरु समूहजस्तै जलविद्युत् कम्पनीको शेयर मूल्य पनि ओरालो लागेको छ । यस्तो अवस्थाले ठूला लगानीकर्तालाई तत्काल बेफाइदा नभए पनि साना लगानीकर्तालाई भने समस्या पारेको छ ।

स्टकका अनुसार छ्याङ हाइड्रो पावरको शेयर १ सय २८ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । हिमालयन पावर पार्टनरको २ सय ७४ रुपैयामा खानीखोला हाइड्रो पावरका १ सय ६ रुपैयाँमा शेयर खरीद बिक्री भइरहेको छ । सो कम्पनीको शेयर गत वर्ष पनि २ सय ५ रुपैयाँमा बिक्री भएको थियो ।

यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको १ सय ६५, न्यादी समूहको १ सय ६०, राधी विद्युत् कम्पनीको २ सय ३२, रैराङ हाइड्रोको १ सय ५५, रिडी हाइड्रो पावरको १ सय २२, सानिम माइक्रोको ३ सय १९, सिनर्जी पावरको १ सय १८ र युनाइटेड मोदीको प्रतिकित्ता १ सय ६६ रुपैयाँमा शेयर खरीद बिक्री भएको छ ।

शेयर बजारमा जलविद्युत् कम्पनीको शेयर नाजुक अवस्थामा नै छ । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा बोनस शेयर वितरण गर्ने प्रक्रियालाई तीव्रता दिएका कारण पनि शेयर बजारमा दबाब परेको छ ।

शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर लगातार गिरावट भइरहँदा नेपाल धितोपत्र बोर्डले विभिन्न १० वटा जलविद्युुत् कम्पनीलाई गत आवमा साधारण शेयर बिक्रीका लागि अनुमति दियो । यस्तै शेयर बिक्रीको तयारीमा रहेका कम्पनीको संख्या ११ छन् ।

शेयर बजारको नियामक निकाय उक्त बोर्डले भने लगानीकर्ताले आफ्नै विवेक प्रयोग गरेर कुन कम्पनीको शेयरमा लगानी गर्ने भन्ने निक्र्योल गर्दा राम्रो हुने सुझाव दिएको छ ।

बजार घट्दैमा आत्तिने र बजार बढ्दैमा मात्तिने अवस्था नरहेको भन्दै विवेक प्रयोग गरेर शेयर खरीद गर्दा उपयुक्त हुने र बजारले नै मूल्य निर्धारण गर्ने भएकाले लगानीकर्ता नै जिम्मेवार बन्नुपर्ने बोर्डका प्रवक्ता नीरज गिरीको भनाइ छ ।

स्टकका अनुसार आज बजार २ दशमलव ९१ बिन्दुले घटेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ० दशमलव ५४ बिन्दुले घटेर २ सय ५१ द्यशमलव ०८ बिन्दुमा पुगेको छ । आज कूल १ सय ६३ कम्पनीको ५ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर १६ करोड ७७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँमा खरीद बिक्री भएको छ ।

आज ३ उपसमूहको शेयर बढ्दा ७ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ २ दशमलव २६, होटल १७ दशमलव १८, निर्जीवन बीमा २४ दशमलव ९५, उत्पादन ५ दशमलव ३६ अन्य २ दशमलव ४६, माइक्रोफाइनान्स ५दशमलव ६१, बीमा २७ दशमलव ६१ बिन्दुले घटेको छ । यस्तै विकास बैंक ३ दशमलव ११, जलविद्युत् २ दशमलव ९८ र फाइनान्स समूहको शेयर ० दशमलव ७८ बिन्दुले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL