काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले सरकारको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पछिल्लो समय सरकारले कामभन्दा पनि कुरा बढि गरेको र कुरा गरेर लक्षित आर्थिक सम्बृद्धि हासिल गर्न नसक्ने भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
‘सरकारले आफ्नो कामको गति तिव्र नबनाउने हो भने यो ५ वर्ष पनि समृद्धिको कुरा गरेरमात्रै बित्ने छ,’ २४ औं कार्गो डेको उद्घाटन गर्दै उनले भने, ‘हाम्रो गति निकै तिव्र र परिणाममुखी हुन आवश्यक छ ।’ पछिल्लो समय सरकार गतिहिन भयो परिणाममुखी भएन भनेर जनताका गुनासाहरु सुनिन थालेको समेत उनले बताए ।
यो बाढी पहिरो, डुबान, दुर्घटना जस्ता समस्याहरु बढेर गएका कारण पनि होला । तर, काठमाडौं जस्तो ठाउँमा डुबान, खाल्डो खुल्डी, कलंकी–नाकढुंगा सडकको वर्षौँदेखिको बेहाल, चावहिल–बौद्ध–साँखु सडकको यो विजोग पर्यटन जस्तो महत्वपूर्ण केन्द्र रहेको ठमेलको सडक हिलाम्मे यो कन्त विजोगको दृष्य निकै लाजमर्दो भएको उनको भनाई थियो ।
सम्बन्धित निकाय छिट्टै र रातदिन सक्रिय भएर यो समस्याको समाधान गर्न समेत उनले आग्रह गरेका छन् ।
सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन नारा दिएको र सबै नेपालीको मुखबाट समृद्ध नेपालको कुरा आईरहेको सन्दर्भमा व्यापार घाटा उच्च विन्दुमा पुग्नु थप चुनौती भएको उनको गुनासो थियो ।
‘हामीले निरन्तरको आयात वृद्धिमा न्यूनीकरण र निर्यात वृद्धि गर्दै व्यापार सन्तुलन कायम गर्न नसके समृद्धि हासिल गर्न कठिन छ,’ उनले भने, ‘यसका लागि गुणस्तरीय वस्तु उत्पादन वृद्धि, हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै हाम्रो उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्नुपर्दछ ।’
अहिले नेपाली भान्छामा पाक्ने परिकारदेखि ठूलठूला निर्माण सामाग्री पनि आयात भईरहेका अवस्थामा यसलाई कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने कुरामा सबै दृढ भएर लाग्नु पर्ने उनको सुझाव थियो । अब आयात होइन कसरी कसरी आत्मनिर्भर हुन सक्छौं भन्नेतर्फ सोच्न आग्रह गरेका छन् ।
अबका दिनमा गुणस्तरीय उत्पादन गरी त्यसलाई अन्तरराष्ट्रिय बजार पुर्याउन सबै एकजुट भएर लाग्न समेत सुझाएका छन् । विशेषगरी व्यापार घाटा कम गर्न विद्युत उत्पादन, विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए ।