काठमाडौं । ३५ करोड रुपैयाको लागतमा ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउस बन्ने भएको छ ।
पर्यटकीय दृष्टिले गन्तव्यस्थल रहेको नुवाकोटमा भारतीय र चिनियाँ पर्यटक बढ्ने भएकाले पनि रिसोर्ट स्थापना गर्न लागिएको अध्यक्ष विष्णु प्रसाद नेपालले बताएका छन ।
ऐतिहासिक, धार्मिक तथा भौगोलिक सम्पदायुक्त नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरेर उक्त रिसोर्ट स्थापना गर्न लागेको अध्यक्ष नेपालले बताएका हुन ।
नुवाकोट विदुर–५, देवीघाटका समाजसेवी विष्णुप्रसाद नेपालको अध्यक्षतामा बन्न लागेको उक्त रिसोर्ट नुवाकोटको बेलकोटगढी २ जिलिङमा बन्ने भएको हो ।
रिसोर्टका प्रवद्र्धकमा जग्गाधनी ठाकुर खतिवडा, केशव अर्याल, बद्रीलाल श्रेष्ठ, शिव कोइराला लगायत ३२ जनाको टिम रहेको छ ।
पासाङल्हमु राजमार्गबाट १ किमी उचाइमा बन्ने सो रिसोर्टबाट त्रिशूली र तादी नदी, देवीघाट तथा गणेश र लाङटाङ हिमाल लगायत सुन्दर डाँडाकाँडा देखिने बताइएको छ ।
सुविधासम्पन्न र स्तरीय सो रिसोर्ट निर्माणको काम आगामी मङसिर देखि शुरु भई बढीमा २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको नेपालले जानकारी दिएका छन ।